२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

अस्थिरतालाई मलजल गर्ने खालका समाचार मुलुकका लागि घातक : पूर्वमुख्यमन्त्री गिरी

बुधवार , पौष १०, २०८१

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा, १० पुस । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी राजनीतिक अस्थिरतालाई मलजल गर्ने खालका समाचार आउनु मुलुकका लागि घातक भएको बताएका छन् । उनले सकारात्मक सोचका अघि बढ्नुपर्नेमा जोड दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । ‘नकारात्मक कुरालाई धेरै प्रचार गर्ने काम राम्रो होइन । तर, यसो भनिरहदा गलतलाई ढाकछोप गर्नुहुँदैन । पत्रकारहरुको भूमिका महत्वपूर्ण छ, ’उनले भने ।

    नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य समेत रहेका नेता गिरीले पत्रकारिता क्षेत्रले जनतालाई सूसुचित र सम्बन्धित पक्षलाई सजग गराउँदै आएको बताए । उनले पत्रकार महासंघका निर्वाचित टीमलाई एकताबद्ध भएर जान आग्रह गरे । उनले पत्रकारिता क्षेत्रमा भएको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए । 

    लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका गिरीले मुलुक बनाउनुपर्छ र यसको जिम्मेवारी लिनुपर्छ भनेर दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको दावी गरे । 
    त्यस्तै एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले नवनिर्वाचित टीमको कार्यकाल अनुकरणीय, सिर्जनशील र उत्कृष्ट बनोस् भन्दै शुभकामना व्यक्त गरे । उनले एमाले सम्पूर्ण पत्रकारहरुसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले पत्रकारलाई उपयोग गर्ने होइन, पत्रकारसँग सहकार्य गरेर अघि बढ्छौं, ’अध्यक्ष गैरेले भने । 

    पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले सबैको भावना समेटेर अघि बढ्न महासंघको नवनिर्वाचित टीमलाई आग्रह गरे । उनले सबै समस्या, चुनौतीको सामना गर्न र प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न आग्रह गरे । 

    नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य महेन्द्र थापाले पत्रकारिता क्षेत्रको विकास गर्न मिलेर अघि बढ्ने बताए । उनले सम्मान गर्ने एमाले रुपन्देहीलाई धन्यवाद दिए । 
    पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एमाले रुपन्देहीले एउटा नयाँ अभ्यासको थालनी गरेको बताए । उनले सबैको सल्लाह सुझाव ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘यो सम्मानले हामीलाई उर्जा दिएको छ, यो उर्जा महासंघलाई अझ सबल बनाउन लाग्नेछौं । राजनीतिक दलको साथ र सहयोग रहने अपेक्षा छ । आगामी दिनमा पनि उर्जा दिइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं, ’अध्यक्ष पाण्डेले भने ।

    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता, पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष हितराज पन्थीको स्वागत तथा सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय परिषद सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य तथा जिल्ला शाखाका पदाधिकारी र सदस्यलाई एमाले रुपन्देहीले सम्मान गरेको हो । त्यस्तै लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को सदस्यमा मनोनित बुटवलका माधव नेपाललाई पनि सम्मान गरिएको थियो । त्यसै गरी लुम्बिनी सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहालाई पनि सम्मान गरिएको थियो ।

    470579908_1375868140463046_5747399800277321383_n.jpg