२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नेपाल जस्तो सुन्दर देश अरु कुनै छैन : नन्दलाल गोयनका

सोमवार , मंसिर १७, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • भैरहवा, १७ मंसिर । उद्यमी नन्दलाल गोयनकाले एक कार्यक्रममा आफ्ना मनका कुरा साझा गरेका छन् । गोयनका ग्रुपका प्रमुख ८० वर्षिय नन्दलाल गोयनकाले नेपालको भूमिमा हुर्किए, नेपालमा नै मर्न पाउँ भन्दै नेपाल जस्तो सुन्दर देश अर्को कुनै नभएको बताएका छन् ।

    विगतका कुरा सम्झदै उनले भने, ‘कृषि उपज अन्नबाली जडिबुटीको पैदवार भूमि भएको नेपालले  हिन्दुस्तानमा निर्यात गर्थ्यो । आज आयात भइरहेको छ । कुनै बेला पाल्पाको घ्यु बनारस पुग्थ्यो । भारतका विभिन्न स्थानमा पाल्पाको घ्युको माग थियो । बुटवल संकलन केन्द्र थियो । यातायातको व्यवस्था थिएन । नौतनवाबाट बुटवल पुग्न दिनभर लाग्थ्यो ।’

    मंसिर १५ गते शनिबार रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा  आयोजित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी ) कार्यक्रममा आफ्नो व्यवसायिक यात्रा साझा गर्दै उनले भने यस्तो बताएका हुन् । उनले भने, ‘अहिले देशमा उज्यालो हराए जस्तो लागेको छ । तर, अध्यारोपछि अवश्य उज्यालो आउँछ । लिडरहरु जहिले पनि आशावादी हुनुपर्छ ।’

    कार्यक्रममा ‘मेरो कर्म मेरो खुशी’ शिर्षक अन्तर्गत बोल्दै गोयनकाले आफ्नो व्यवसायिक यात्रामा व्यक्तिगत अनुभव पनि साझा गरे । उनले भने, ‘मेरो मैदा उद्योग स्थापनामा भैरहवाका गल्ला व्यवसायी कालीभक्त शर्माको मुख्य सहयोग र प्रेणा रहेको छ । कालिभक्त मेरो गुरु हो । आज समय बदलिएको छ, सहयोग र इमान्दारीताको वातावरण हराउँदै गएको छ ।

    एक रोचक प्रसंगमा उनले भने, ‘मेरो बुवा एक व्यापारीकहाँ जागिरे हुनुहुन्थ्यो, काठमाडौं इन्द्रचोकमा चुरोट विक्री हुन्थ्यो । त्यतिबेला राजा महेन्द्रलाई मेरो बुवाले चुरोट पुर्याउनु हुन्थ्यो । त्यतिबेला जंगलको बाटो हिंड्नुपर्ने भएकोले आफ्नो सुरक्षाका निम्ति राजा महेन्द्रबाट बुवाले रिभल्भर राख्ने अनुमतिपत्र दिनुभएको थियो ।’

    एलएसडीटीको १३८ औं श्रृंखलाका प्रमुख अतिथि समेत रहेका गोयनकाले एलएसडीटी मंचको प्रगति होस् भन्दै शुभकामना पनि व्यक्त गरे ।

    WhatsApp Image 2024-12-02 at 21.27.56_9ba69d0d.jpg

    १३८ औं श्रृंखलाको प्रारम्भिक सहजीकरण सृजनशील मंच नेपालका सचिव कृष्ण साह कानुले गरेका थिए । १३८ औं श्रृंखलाकी अध्यक्ष आस्था महिला धद्यमी कार्यसमिति सदस्य बबिता पाण्डेले एलएसडीटी सबै उमेर वर्गका निम्ति सिक्ने सिकाउने मंच भएको बताउँदै उपस्थितिलाई धन्यवाद व्यक्त गरिन् ।

    कार्यक्रममा एलएसडीटी युथका उपाध्यक्ष ऋषव विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का कार्यसमिति सदस्य राम प्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रमको प्रारम्भमा ध्यान र बालबालिकाले राष्ट्रिय गान गाएपछि कार्यक्रम सुरु हुने एलएसडीटी व्यवस्थापन समितिका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले जानकारी दिए ।

    WhatsApp Image 2024-12-02 at 21.27.57_35a02a4e.jpg

    एलएसडीटीको स्थापना विजय पाण्डेले गरेका हुन् । यो निःशुल्क सञ्चालन हुन्छ । यसको व्यवस्थापन स्वेच्छिक योगदानबाट हुँदै आएको पौडेलले बताए । विजय पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् ।