
सोमवार , कार्तिक २६, २०८१
दाङ, २६ कार्तिक । संघीय सरकारले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको चीन भ्रमणलाई अनुमति प्रदान गरेको छ । आइतबार बसेको संघीय सरकार मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्दै अनुमति प्रदान गरेको हो ।
यसअघि कार्तिक २० गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुले विदेश यात्रा गर्दा संघीय सरकारको अनुमति लिनुपर्ने प्रावधान छ । सोही आधारमा प्रदेश सरकारका मुख्यमन्त्रीको चीन भ्रमणलाई संघीय सरकारले अनुमति प्रदान गरेको हो ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल सोमबार (आज) चीन जान लागेको हो । बेलुका ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने तयारी रहेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा जान लागेका हुन् । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ । वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij