
सोमवार , फाल्गुण २४, २०७७
बुटवल, २४ फागुन ।
नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्थामा तात्विक फरक आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन नसक्दा कानुनी अधिकार धेरै भए पनि समाजमा अहिले पनि लैंगिक असमानता र हिंसा कायम रहेको उनीहरुले बताए ।
मधेश मानव अधिकार गृह कपिलवस्तु र सञ्चारिका समूह लुम्बिनीले संयुक्त रुपमा आयोजना गरेको महिलाको सुरक्षा सम्मान र रोजगारीमा प्रदेश सरकारका नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले विद्यालय शिक्षादेखि नै महिलालाई सवल, सक्षम बनाउने र लैंगिक समानतामूलक काम गर्ने गरी शिक्षा दिन सुझाव दिएका छन् ।
सहज परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा महिला अधिकार स्थापित गर्न घरपरिवारदेखि नै उत्पादनमूलक काममा महिलाको भूमिका र घरयासी काममा पुरुषको सहभागिता बढाउनेबारेमा छलफल चलाउन उनीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले महिला अधिकारका विषयमा प्रशस्त नीति, कानुन र योजना बने पनि कार्यान्वयनमा जटिलता रहेको बताए । महिलाको सवाल महिलाले मात्रै बोल्ने वा अरुको भनेर छोड्दा महिला अधिकारका नीति कार्यान्वयनमा जान नसकेको र महिला सहभागिता भए पनि निर्णायक तहमा पुग्न नसकेको मन्त्री बरालको भनाइ थियो ।
कार्यक्रममा उपसभामुख कृष्णी थारुले संघीयता र तीन तहको सरकारले महिलाका क्षेत्रमा थुप्रै काम गर्न सक्ने भएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताइन् । अहिलेसम्म प्रदेशको आफ्नै लैंगिक र महिला नीति नभएको बताउँदै उपसभामुख थारुले अबको प्रदेशसभाबाट यस्तो नीति बनाउन सुझाव दिइन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कानुन सचिव राजेन्द्र थापाले तीन तहकै सरकारले महिलाको सुरक्षा सम्मान र रोजगारीमा नीति तथा कार्यक्रम बनाएपनि यथेष्ट नरहेको बताए ।
लुम्बिनी प्रदेशमा शिक्षामा छात्रवृत्ति, तालिम तथा सीप विकासमा अवसर र सम्मान लगायतका महिला लक्षित बजेट कार्यान्वयनमा रहेको उल्लेख गरे । उनले संघीयतासंगै जिल्ला तहमा रहने महिला तथा बालबालिका कार्यालय नहुँदा महिला विकासका कार्यक्रम ओझेलमा परेको र महिला गतिविधि संचालनमा समस्या परेको देखिएको पनि बताए ।
अर्को कार्यपत्र प्रस्तुत गर्दै माहुरी होमका विना चौधरीले सहज परियोजनाले महिला सुरक्षा र रोजगारीका क्षेत्रमा गरेका क्रियाकलापहरु जानकारी गराएकी थिइन । सहज परियोजना अन्तरगत रुपन्देही र कपिलवस्तुका स्थानीय तहमा महिलाको न्यायमा पहुंच पुर्याउने र रोजगारी बढाउने काम भएको चौधरीको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु रमा अर्याल, थानकुमारी थापा, पुष्पा थरुनी, कार्यक्रमका अध्यक्ष रामविकास चौधरी, सञ्चारिका समूह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख तुल्सा अर्याल, संचारिका समूहका माया केसी, रुपन्देही अध्यक्ष निरु गौतम, राष्ट्रिय अपांग महासंघका सावित्रा घिमिरे, मानव अधिकार आयोगका इन्द्रजित साहनी लगायतले महिला अधिकार र सशक्तिकरणका लागि अबको गन्तव्यबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij