२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी सरकारको अभियान : ‘घुम्न जाउँ बर्दिया’

शनिवार , कार्तिक १०, २०८१

  • 631
    Shares
  • 631
    Shares
  • दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले यस वर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।

    बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको हो । यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ । बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । 

    उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरुको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको बताए । ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरुलाई आकिर्षित गर्ने धेरै इभेन्टहरु छन्’, मन्त्री न्यौपानेले भने,‘यो बर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरुलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौं ।’ 

    एक वर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरुका बारेमा पर्यटकहरुलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । बाह्य पर्यटकहरुलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरुको सहजताका लागि सम्बन्धीत पक्षसँग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए ।

    ‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरु ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरुका बारेमा सूचना प्रदान गरिनुपर्यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिइने छ’, मन्त्री न्यौपानेले भने,‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरुलाई जानकारी गराउने काम हुनेछ ।’

    पर्यटकहरुको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाइने बाघ हो । बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरु बढ्ने गरेका छन् । जंगल सफारी गरेर बाघ लगायतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुन्ज मानिन्छ । त्यसै गरी बर्दियाको दौलतपुर घाटमा पाईने डल्फिन बा्हय पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ । 

    यो घाटमा डल्फिन देखिने गरेको छ । त्यसै गरी बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरु पर्यटकहरुलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् । यी होम स्टेहरुमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ । 

    त्यसै गरी व्यवसायिक रुपमा कृषि क्षेत्रलाई अगाडी बढाएका विभिन्न स्थलहरु अवलोकन तथा कृषी अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो । ‘बर्दियामा मुख्य गरी बाघ हेर्न पाईन्छ, बाघ लगायत अरु जनावर जंगल सफारी गरेर हेर्न पाईन्छ’, मन्त्री न्यौपानेले भने,‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससँगै कृष्णसार, डल्फिनको अवलोकनसँगै यहाँका होम स्टेहरुमा पाइने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरुको प्रवद्र्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ ।’ यसै गरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्विक धार्मिक धामहरु समेत बर्दियाका थप आकर्षण हुन् । 

    बर्दियामा पर्यटकहरु भित्र्याउनका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपूर प्रयोग गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत यहाँका पर्यटकीय थलोहरुका बारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रहरुका बारेमा विदेशी पाहुना पर्यटकहरुलाई जारी हुन जनाएको छ ।

    त्यसै गरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने भएको छ ।

    स्थानीय तहहरुले पर्यटकीय स्थलको प्रचारप्रसारसँगै पर्यटकहरुको उचित बसोबासको व्यवस्थापनका लागि तथा पर्यटकीय स्थलहरुको अनुगमनका लागि समन्वय गर्नेछन् । यसैबीच मन्त्रालय र बर्दियाका स्थानीय तह तथा सरोकारवालाहरुबीच शुक्रबार बर्दियामा समन्वयात्मक बैठक समेत गरिएको छ ।