images

सोमवार, बैशाख १७ गते २०८१

‘गरिबीको कारण बोझ भइरहेका छन् तराईमा छोरी’

‘गरिबीको कारण बोझ भइरहेका छन् तराईमा छोरी’

images
images
images
सोमवार, फाल्गुण २४ २०७७
सोमवार, फाल्गुण २४ २०७७
  • ‘गरिबीको कारण बोझ भइरहेका छन् तराईमा छोरी’

    मार्च ८ अर्थात, नारी दिवस, संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन ।

    images

    १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । ग्रेगेरियन क्यालेण्डरअनुसार त्यस दिन ८ मार्च थियो । त्यससमय धेरैजसो देशमा ग्रेगेरियन क्यालेण्डर र प्रचलित थियो । त्यसैले ८ मार्चलाई महिला दिवसको रूपमा मनाउन थालियो र बिडम्बना यो दिवसले नेपालका अधिकांश महिलाहरुलाई कहिले छुन सकेन भने नेपालको संविधानले पनि नेपालका ग्रामीण महिलाहरुको सामान्य गाँस, बास र कपासलाई पनि सुनिश्चित गर्न सकेन ।

    mahila_JLhR2Q8fRI.jpg

    यसको यसको उदाहरणका लागि नवलपरासी जिल्ला सरावल गाउँपालिकाकी निमा राजभरको पीडालाई लिन सकिन्छ । नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ५ फुलबरिया बस्ने १४ वर्षिय जानकी राजभर गरिबीका कारण आफ्नै आमाको हातबाट बेचिनबाट जोगिएकी छन् । उनी ४ जना दिदीबहिनी र एक भाइमध्येकी माइली छोरी हुन् । गरिबीका कारण विद्यालयको मुख देख्न नपाएकी, उनी आफ्ना साना भाइबहिनीहरुको बिहान बेलुकीको छाक टार्न आफ्नी आमासँग दैनिक ज्याला मजदुरी गर्न जान्छिन् । उनीहरुको सम्पतिको नाममा सरावल गाउँपालिकाबाट निर्माण गरिदिएको २ धुर जग्गामा निर्मित २ कोठे भवनबाहेक केही छैन् । यो २ कोठे भवन नै उनीहरु ७ जनाको परिवारको आश्रयस्थल हो । जानकी भन्छिन, ‘मेरा साथीहरु विद्यालय गएको देखेर मलाई पनि पढेर ठुलो मान्छे बन्ने रहर थियो तर बाबुले हाम्रो भविष्यको लागि कहिल्यै सोचेनन् । सधै मादकपदार्थ सेवन गरेर आउने र आमालाई सधै कुटपिट गर्ने र घरमा कलह गर्ने भएकोले हाम्रो भविष्य झन् अन्धकार भयो । यो २ धुर जग्गा पनि धितोमा छ, जुन बाबुले दिदीको बिहे गर्न धितो राखेका हुन् ।

    उनकी बाबु, आमा निमा राजभरलाई ४ जना छोरी र २ जना कलिला बालबालिकाको जिम्मा लगाएर विदेश गएका गए । विदेशमा उनी के गर्दैछन् ? उनको अत्तोपत्तो छैन । उनकी आमा आफ्ना कलिला बालबालिकाहरुको दैनिक जीवन धान्नका लागि अर्काको घर घरमा गएर भाडावर्तन माझेर गुजारा चलाईरहेकी छिन् । उनको परिवारको जीवन धान्ने एक मात्र उपाय, उनी र उनकी कलिला छोरीहरुले अर्काको घरघरमा गएर भाडावर्तन र ज्याला मजदुरीबाट प्राप्त श्रोत नै हो । कोरोना भाइरसले देश महिनौ लकडाउन भयो । यस्तो अवस्थामा आफ्नो जीवन निर्वाह कसरी गर्नुभयो ? भन्ने प्रश्नमा उनी आँखाभरी आँसु गर्दै भन्छिन्, ‘एकातिर गरिबीको कारण एकछाक खान कठिन भइरहेको थियो । कोरोना भाइरसको प्रकोपले जीवन अझ कठिन भयो ।

    देश लकडाउन भएको सुरुका समयमा कति रात पानी मात्र खाएर सुत्नुपर्यो । मेरा कलिला छोराछोरीहरु खान नपाएर मर्छन् कि भन्ने चिन्ताले सधै पिरोल्थ्यो । उनीहरुको भोक मेटाउन मैले छिमेकीहरूसँग खानाको लागि बिन्ती गर्नुपर्यो । मलाई मेरो त्यो दुःखमा मेरा छिमेकीहरुले ठुलो सहयोग गरे । मेरो दुःखको अवस्था देखेर एबिसी नेपाल नाम गरेको संस्थामा काम गर्ने शाइदा निशा पठान बैनीले सरावल गाउँपालिकामा हाम्रो यो अवस्थाको जानकारी गराइदिइन् र हामीलाई गाउँपालिकाले चामल, दाल, तेल, तरकारीको व्यवस्था गरिदियो र मेरो बच्चाहरुको प्राण जोगियो ।’

    जसोतसो जीवन चलिरहेकै थियो, एकदिन दिल्लीमा बस्दै आएका २३ वर्षिय कान्ही राजभर नाम गरेको एक युवकसंग जानकीकी आमाको उनकै गाउँ फुलबरियामा भेट भयो । उक्त युवकले उनकी आमासँग जानकी राजभरको विवाह गर्ने प्रस्ताव राखे । उक्त युवकले जानकीलाई बिहे गरेवापत उनीसंग कुनै पनि दाइजो नलिने र उनको छोरीलाई दिल्लीमा लगेर राम्रोसंग राख्ने कुरा व्यक्त गरे । गरिबीको कारण दैनिक जोहो गर्न कठिन भइरहेको अवस्थामा उनकी आमाले युवकको प्रस्तावलाई सहर्ष स्वीकार गरिन । आमाको कुरालाई जानकीले पनि सहमति दिइन् । विवाह सामान्य तरिकाले तुरुन्तै गरिहाल्ने र उक्त विवाहको कुरा सोही परिवारका सदस्यहरु माझ मात्र सीमित रहने सम्झौता भयो । उक्त कुराको खबर सरावल गाउँपालिकाका सम्वाद संजालका युवाहरुको कानमा पुग्यो । उनीहरूले तत्काल सम्बन्धित स्थानीय गाउँपालिकालाई जानकारी गराए र प्रहरीलाई यो विवाह रोक्न अनुरोध गरे । उक्त कुराको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय र वरिष्ठ कार्यकारी प्रमुख बुद्ध प्रकाश पौडेल उक्त स्थानमा पुगेर उक्त विवाह रोक्न अनुरोध गरे ।

    सुरुमा, परिवारका सदस्यहरुले उक्त विवाह रोक्न अस्वीकार गरे तर स्थानीय तह, प्रहरी प्रशासन, स्थानीय सरोकारवालाहरुको दबाबमा उक्त विवाह रोकियो । कान्हि राजभरलाई प्रहरीले पक्राउ गर्यो र अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा उक्त युवकको पहिले नै विवाह भइसकेको र उसको २ छोराछोरी र श्रीमती भएको खुल्न आयो । अनुसन्धानको क्रममा उक्त युवकले जानकीसंग विवाह गरी दिल्लीमा लगेर बेच्न सक्ने आंशका गर्यो ।

    उक्त घटना पश्चात, जानकीकी आमा निमा राजभर भन्छिन ‘मेरा सबै छोरीहरुलाई बिहे गर्ने मेरो जिम्मेवारी हो, यदि जानकीको विवाह भयो भने, ‘मलाई एक जनाको भए पनि भार कम हुन्छ र उसले दुई छाक खान पाउँछे भनेर विवाहको लागि सम्झौता गरेको कुरा व्यक्त गर्छिन ।’ जानकीसंग यस विषयमा कुरा गर्दा, उनि भन्छिन, ‘मलाई विवाह गर्न मन थिएन । आमाको दुःख देखेर मैले विवाह गर्न सहमत भए र आमालाई मेरो बोझ कम गर्नका लागि विवाहको प्रस्तावलाई स्वीकार गरे ।’ गरीबीले परिवारको जीवनलाई दयनीय र बाँच्नको लागि कठिन बनाएको छ, जसको कारणले निमा राजभरले आफ्नी उमेर नपुगेकी छोरीलाई विवाह हर्ने प्रस्तावलाई सहर्ष स्वीकार गरिन् ।

    अहिले उनी आँखाको आँसुलाई मुखभरी पार्दै भन्छिन् ‘गरिबीको कारण छोरी पनि बोझ हुँदी रहिछिन् । जानकीकि आमा निमा राजभरको ‘गरिबीको कारण छोरी पनि बोझ हुँदी रहिछिन्’ भन्ने भनाइबारे सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीसंग जिज्ञासा राख्दा, ‘गरिबी नेपालको प्रमुख समस्या भएको र जानकी एउटा पात्र मात्र हुन् भन्ने कुरा स्वीकार्नु हुन्छ । यसका लागि सरावल गाउँपालिकाले सबै बालबालिकालाई विद्यालयमा पहँुच पुर्याउने र विद्यालयमा निरन्तरताका लागि अभियानको रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको र यस गाउँपलिकामा आर्थिक तथा सामाजिक रुपले पछाडी परेका परिवार तथा समुदायहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न आयआर्जनका कार्यक्रमहरु पनि संचालन गरिरहेको कुरा व्यक्त गर्नुहुन्छ ।

    वास्तवमा, गरिबी यस्तो रोग हो जहाँ आफ्नै सन्तानलाई पनि आफूबाट अलग राख्न एक आमा तयार हुन्छिन् भने एक छोरी गरिबीको आँसु भित्रको परिवारको पीडालाई कम गर्न कम्मर कस्छिन् । जानकी जस्ता यस्ता धेरै छोरीहरु छन् जो बाध्यताका कारण बुझेर होस् या नबुझेर, चाहेर होस् या नचाहेर बाल विवाह, बेचबिखन र शोषणमा परिरहेका छन् । यसका लागि राज्यले नियम, कानुन बनाउनेतिर मात्र ध्यान केन्द्रित गर्ने होइन उनीहरुको तत्कालको समस्या समाधान गर्दै दीर्घकालीन उचित व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । होइन भने ‘गरिबीको कारण छोरी पनि बोझ हुँदी रहिछिन्’ भन्ने उक्त भनाइ कुनै दिन हरेक आमाहरुको मुखबाट अनायास निस्कन सक्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij