२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

परासी बजारमा अनुगमन, भेटियो किरा र ढुसी लागेको मिठाई

बुधवार , आश्विन १६, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • परासी, १६ असोज । 
    पश्चिम नवलपरासीको परासी बजारमा सञ्चालित मिठाई पसलहरुमा अखाद्य मिठाई विक्रीवितरण तथा भान्साको सरसफाईमा कमी देखिएको छ । संयुक्त बजार अनुगमन समितिले बुधबार गरेको अनुगमनको क्रममा गुणस्तरहीन मिठाइका परिकार विक्री भइरहेको फेला पारेको हो ।

    अनुगमनको क्रममा परासीको अमृत्तम स्वीट्समा किरा र सडेर ढुसी लागेका मिठाई विक्री भइरहेको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि एवं पत्रकारसहितको संयुक्त टोलीले बुधबार परासीमा सञ्चालित मिठाई पसलहरुको अनुगमन गर्ने क्रममा रामग्राम–३ स्थित अमृत्तम स्वीट्सले जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै सडेगलेको र किरा लागेको रसबरी मिठाई तथा ढुसी लागेको पनिर विक्री गरिरहेको अवस्थामा फेला पारी नष्ट गरेको छ ।

    उक्त पसलबाट किरा लागेको र दुर्गन्ध फैलिएको ४ केजी रसबरी मिठाई तथा ढुसी परेको ५ केजी पनिर जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक यादवले जानकारी दिए । अनुगमन टोलीले उक्त पसललाई आगामी दिनमा सुधार गरेर गुणस्तरीय मिठाइ मात्र विक्री गर्न सचेत गरेको छ ।

    अनुगमन टोलीले परासीकै ऋद्धिसिद्धि मिष्ठान भण्डारबाट ३५ बोत्तल, लक्ष्मी मिष्ठान भण्डार तथा श्रीकृष्ण स्वीट्सबाट पनि दुई, दुई बोत्तल गरी करिब ४० बोत्तल म्याद गुज्रेको पेयपदार्थ जफत गरी नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिए । 

    अनुगमन गरिएका माखनभोग स्वीट्स, पशुपति मिष्ठान भण्डार, अमृत्तम स्वीट्स, ऋद्धिसिद्धि मिष्ठान भण्डार, लक्ष्मी मिष्ठान भण्डार, श्रीकृष्ण स्वटीस् लगायतका भान्सामा सरसफाईको अभाव देखिएको पौडेलले बताए ।

    परासीका ६ वठा मिठाई पसलमा अनुगमन गर्दा अधिकांश मिठाई पसलका भान्सामा सरसफाईको कमी, अखाद्य रंगको प्रयोग, हानिकारक केमिकल प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका पेयपदार्थ विक्री वितरण गरिरहेको पाइएको उनले बताए ।

    दशैँ, तिहार तथा छठ लगायतका ठूला पर्वहरु नजिकिँदै जाँदा बजारमा महंगी, कृत्रिम अभाव, कालोबजारी, मिसावट गरी उपभोक्ता ठगि गरिरहेको गुनासो बढेको छ ।