२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

रोहिणीमा जिसस र स्थानीय तहहरुबीचको घुम्ती बैठक सम्पन्न

शुक्रवार , आश्विन ११, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, ११ असोज । जिल्ला समन्वय समिति (जिसस) र स्थानीय तहहरुबीचको घुम्ती बैठक सम्पन्न भएको छ । रोहिणी गाउँपालिकाको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय, रुपन्देहीको समन्वयमा रोहिणी गाउँपालिका–३ स्थित धकधईमा १८ औं बैठक सम्पन्न भएको हो । प्रत्येक महिना फरकफरक स्थानीय तह (पालिका) मा घुम्ती बैठक हुँदै आएको छ ।

    बैठकले जिल्लाका १६ वटै स्थानीय तहमा शिक्षा ऐन निर्माण गर्ने र एकरुपता दिने गरी जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंको संयोजकत्वमा १३ सदस्यीय विज्ञ टोली गठन गरेको छ । 

    समितिको सदस्यमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङ, ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने, रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रतिनिधि, प्याब्सन, एनप्याब्सन रुपन्देहीका प्रमुख तथा प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि र अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे रहेका छन् ।

    बैठकमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले घुम्ती बैठकमा भएको निर्णयमा सबैको अपनत्व हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अघिल्लो बैठकको समीक्षा गरेका छौं । कक्षा ११ र १२ मा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय यसअघि गरेका थियौं ।’

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षा क्षेत्रको विकासका निम्ति लागिपरेको बताए । उनले पालिकाभित्रका सामूदायिक विद्यालयहरुमा प्रधानाध्यापक हेरफेर गरिएको बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैठकका मुद्दा साझा भए जस्तै बुझाइ पनि साझा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘रुपन्देही छुट्टै पहिचान भएकाृ जिल्ला हो । यो पहिचान निरन्तर होस् । ’

    रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको स्वागत तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्र खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, सिद्धार्थनगर नगरपालिकाका कार्यबाहक नगरप्रमुख सोम बहादुर गुरुङ, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु), कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल लगायतले बोलेका थिए ।