२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र, मुख्यमन्त्रीद्वारा उद्घाटन

शुक्रवार , आश्विन ११, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • भैरहवा, ११ असोज ।
    लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाडौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्नेछन् । चीनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ । 

    शुक्रबार सिकाई केन्द्रको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । एचएसके सेन्टरको बोर्ड अनावरण गरेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालयको बीचमा चिनियाँ भाषा सिकाई केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योगदान गर्ने बताए । ‘दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भने,‘चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्नेछ ।’

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परीक्षाको लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘चिनियाँ भाषा परीक्षाको लागी काठमाडौं धाउनुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ’उनले भने,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।’

    बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले एक वर्षअघि चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य–सम्झौता अनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्तर्राष्ट्रिय तरमा फैलाउन कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे । 

    यसैबीच विश्व विद्यालयमा शुक्रबार नै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको छ । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चीनका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।

    WhatsApp Image 2024-09-27 at 6.03.30 PM.jpeg