२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

कर्ण शाक्य भन्छन्–पैसा कमाएर मात्र नपुग्ने रहेछ

शनिवार , आश्विन ५, २०८१

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, ५ असोज ।
    वातावरणविद्, संरक्षणविद्, होटल व्यवसायी, लेखक तथा कर्ण सकारात्मक कोषका संस्थापक संरक्षक कर्ण शाक्यले पैसा मात्र कमाएर नपुग्ने बताएका छन् । उनले पैसाको लोभमा हराउन नहुनेमा जोड दिए ।

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको ‘सकारात्मक सोच अभियान’ कार्यक्रममा प्रमुख वक्ता शाक्यले यस्तो बताएका हुन् । उनले आफूले पनि पैसा कमाएको तर पैसा कमाएर मात्र नपुग्ने बताए । ९९ प्रतिशत व्यक्ति पैसाले धनी नभएको उनले बताए । 

    उनले भने, ‘मानिसमा अगाडि बढ्नुपर्छ भन्ने भोक हुनुपर्छ । फुर्सद छैन भनेर हुँदैन । समय व्यवस्थापन गर्न जान्नुपर्छ ।।’ उनले जीवनमा भुल महत्वपूर्ण कुरा भएको र जीवनमा आइपरेको दुःख र समस्याबाट सिक्नुपर्नेमा जोड दिए ।

    ‘जीवनमा अगाडि बढ्न समस्या चाहिन्छ । समस्याबाट भागेर हुँदैन । जब समस्या आउँछ, हामीले समाधानका कुरा सोच्छौं । सल्लाह दिन सजिलो छ, समस्या आफ्नो टाउकोमा आएपछि थाहा हुन्छ । जीवनमा मोडैमोड हुन्छ । गलत मोडमा गए मुम्बई जाने बेला मदरास पुगिन्छ,’उनले भने । 

    उनले योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हरेक प्रश्नको उत्तर छ, हरेक गुनासोको विकल्प र हरेक समस्याको समाधान छ । जीवनमा आँखा बन्द गरेर सोच्ने बानी बसाल्नुपर्छ । ’ आँखा बन्द गरेपछि निर्णय गर्न सहज हुन्छ । अपुगले मानिसलाई सताउनुपर्ने उनको भनाइ छ ।

    उनले सपना र विपनाबीचको तालमेल मिलाउनुपर्नेमा जोड दिए । उनले सपनालाई विपनामा परिणत गर्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले रचनात्मक कार्य गरेको बताए ।

    लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष भरत कार्कीको अध्यक्षता, क्लबका संस्थापक अध्यक्ष कमल परियारको स्वागत, सह–सचिव कमल घिमिरेको झण्डा अभिवादन, प्रथम उपाध्यक्ष दिक्षा के.सी.को लियो प्रण तथा कार्यक्रम संयोजक एवं क्लबका प्रमुख सल्लाहकार सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।