२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देही : संविधान दिवसमा प्रभातफेरी तथा झण्डात्तोलन

बिहिवार , आश्विन ३, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ४ असोज । संविधान दिवसको अवसरमा रुपन्देहीमा प्रभातफेरी निकालिएको छ । भैरहवास्थित पर्यटकीय गेटबाट निकालिएको प्रभातफेरी बेलहिया, आँखा अस्पताल, बसपार्क हुँदै देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो ।

    सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरण गर्दै जिल्ला तरीय कार्यक्रम आयोजक समितिले गरेको प्रभातफेरी कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी एवं सर्वसाधारणहरुको उल्लासमय सहभागीता रहेको थियो । 

    IMG_0105.JPG
    IMG_0082.JPG
    IMG_0079.JPG

    रुपन्देहीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ । प्रभातफेरी पछि देवकोटा चोकमा नेपालको राष्ट्रिय झण्डात्तोलन गरिएको छ । 

    सभामा बोल्दै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संविधानको कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए । उनले संविधानको रक्षा गर्दै नेपाल निर्माण गर्ने महान कार्यमा युवा जनशक्ति लाग्नुपर्ने बताउँदै विदेशमा बसेर सामाजिक सञ्जालबाट राष्ट्रियताको नारा लगाएर राष्ट्र बलियो नहुने बताए । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल र नेपालीको हितमा सबैले मिलेर काम गर्नुपर्ने बताए । संविधान दिवसको अवसरमा सबैले राष्ट्र निर्माण गर्ने प्रण गर्नुपर्नेमा उनको जोड थियो । 

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले संविधानको मर्म र भावनाअनुरुप राज्यका संयन्त्रले काम गर्नुपर्नेमा जोड दिए ।