२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थ उद्योग वाणिज्य संघले मनायो ७१ औं स्थापना दिवस

बुधवार , आश्विन २, २०८१

भैरहवा, २ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ । संघले मंगलबार कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

संघले पहिलोपटक स्थापना दिवस मनाएको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । वि.सं. २०११ सालमा स्थापना भएको संघले उद्योगी–व्यवसायीको हकहितमा काम गर्दै आएको बताए । उनले भने, ‘उद्योगी–व्यवसायीमा मात्र हामी सीमित छैनौं । यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, विकास निर्माण, आम जनसमुदायका समस्या समाधानका लागि संघको नेतृत्वले पहलकदमी गरेको इतिहास हामीले सम्झनै पर्छ । ’अध्यक्ष श्रेष्ठले आफू नेतृत्व सम्हाल्नुअघि २० जना अध्यक्षहरुले संघको नेतृत्व गरिसकेको जानकारी दिए । 

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सिद्धार्थ उद्योग वाणिज्य संघमा अझ धेरै उद्योगी–व्यवसायीलाई आबद्ध गर्नुपर्ने बताए । उनले भने, ‘संघप्रति आकर्षण बढाउनुपर्छ । कोरोना लगायत विभिन्न कारणले मुलुकमा समस्या आयो । ’

उनले वर्तमान सरकारले उद्योगी–व्यवसायीको अनुहारमा मुस्कान ल्याउने अपेक्षा गरे । नगरप्रमुख खाँले के के सामान निर्यात गर्न पाइन्छ भन्ने कुरा सम्बन्धित मन्त्रालयले बुझाउनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका खाँले नगरपालिकाले ४६० भन्दा बढी गाईगोरुको व्यवस्थापन गरेको बताए । उनले गाईगोरुलाई सडकमा छाडिदा समस्या भएको बताए । फोहोरमैला व्यवस्थापन कार्य छिटो अगाडि बढ्ने उनको भनाइ छ । 

IMG_8593.JPG

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सिद्धार्थ उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य भएको बताए । उनले महासंघ स्थापना गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको अहम भूमिका रहेको बताए । उनले भने, ‘सिद्धार्थ उवासंघले उद्योगी–व्यवसायीको हकहितमा निरन्तर आवाज उठाइरहेको छ । ’उनले संघमा महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्न आग्रह गरे । 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले सिद्धार्थ उद्योग वाणिज्य संघले नयाँ बाटो सुरु गरेको बताए । उनले भने, ‘जसले पूर्वजलाई सम्मान गर्छ, उसले भविष्यमा सम्मान पाउँछ । पक्कै पनि हामीले इतिहासलाई सम्झनुपर्छ । ’ मुलुकको आर्थिक अवस्था जटिल रहेको र उद्योग–व्यवसाय चल्न नसकेको उनको भनाइ छ । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर स्थानीय तहहरुको घुम्ती बैठक बसेर निर्णय गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यो ठाउँको आर्थिक विकासका लागि अझ धेरै काम गर्नुपर्ने बताए । उनले भने, ‘असोज १ गते अर्थात विश्वकर्मा पूजाको दिन सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना भएको हो । स्थापना दिवस मनाउनु महत्वपूर्ण कार्य हो ।’ सिद्धार्थ उवासंघका पूर्वअध्यक्ष समेत रहेका शर्माले आर्थिक विकास नभएको देशले फड्को मार्न नसक्ने बताए । उनले निजी क्षेत्रले अर्थतन्त्रले चलायमान बनाउने काम गर्ने बताए । 

सिद्धार्थ उवासंघका पूर्वअध्यक्ष ध्रुव कुमार श्रेष्ठले संस्थाका लागि स्थापना दिवस चाडपर्व जस्तै भएको बताए । उनले टीमवर्कका कारण सिद्धार्थ उवासंघ यहाँसम्म आइपुगेको बताए । उनले उद्योग–व्यवसाय सञ्चालनमा विभिन्न चुनौती रहेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य यो संस्थालाई अगाडि बढाउन सुझाव–सल्लाह आवश्यक रहेकोमा जोड दिए ।

संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको सचिव मंगल भण्डारीले जानकारी दिए ।

संघका संस्थापक अध्यक्ष स्वर्गीय मंगलसेन शर्मा हुन् ।