२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नियतमा खोट छैन, कमीकमजोरी भए सच्चिन तयार छौं : मुख्यमन्त्री आचार्य

मंगलवार , भाद्र २५, २०८१

दाङ, २५ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गरे । ‘सरकार सच्चिन चाहन्छ । त्यही भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं’उनले भने–‘आलोचना गर्न नडराउनुस्, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।’ मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको, कमीकमजोरी भए सच्याउन तयार रहेको स्पष्ट पारे ।

राजनीतिक स्थायीत्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको उनले स्पष्ट पारे । ‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ’उनले भने–‘जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिवद्ध छौं ।’
पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनको भनाइ छ । ‘पदबहाली गरेको ४७ दिन भयो । सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छौं’उनले भने–‘सरकारले जनतामा आशा जगाउन काम थालेको छ । यहाँहरुको सहयोगको खाँचो छ ।’

त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । ‘पत्रकारितामा नयाँ आयाम थप्ने काम गरेको छ । विश्वसनीय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ’उनले भने–‘समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।’

मन्त्री न्यौपानेले प्रदेशले गरेका राम्रा योजना र कामहरुको प्रचारप्रसार बढाउनुपर्ने, राम्रा  कामको प्रचार गरेर अघि बढ्नुपर्ने बताए । उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउने गरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । उनले तीन तहको सरकारको बीचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन, नेपाल संस्कृति विश्वविद्यालयका रजिष्टार माधव अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी, नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा (माओवादी केन्द्र) का सचिव विश्वराज आचार्य लगायतले समाजलाई सही दिशा प्रदान गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।