२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

द्वन्द्वपीडितलाई न्याय दिन अब ढिलाइ गर्नुहुँदैन : सिटौला

बिहिवार , भाद्र ६, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • काठमाडौं, ६ भदौ ।

    नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्याउन पीडितलाई दिने न्यायमा ध्यान दिनैपर्ने बताएका छन् ।

    बिहीबार राष्ट्रिय  सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा सिटौलाले विधेयक निष्कर्षमा पुग्नै लाग्दा केही असन्तुष्टीहरु पनि बाहिर आउन थालेको भन्दै पीडितलाई दिने न्यायमा ध्यान दिएर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

    उनले अब सवैको ध्यान बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा केन्द्रीत हुने भएकाले गम्भीरतापूर्वक सरकारले आगामी कदम चाल्नुपर्ने धारणा राखे । शान्ति सम्झौताको अधुरो काम द्वन्द्वपीडितलाई न्याय दिनका लागि अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

    सिटौलाले सुराकीको आशंकका भरमा राज्य वा विद्रोही दुवै पक्षबाट पीडित भएका परिवारलाई पनि न्याय दिनसक्नुपर्नेमा जोड दिए ।

    उनले देशलाई कठिन अवस्थामा एक भएर जोगाउने दलहरुबीच अहिले विश्वासको खाडल देखिएको भन्दै फेरी एकपटक सवै राजनीतिक दलहरु एक भएर मुलुकमा देखिएका चूनौतिको सामना गर्नुपर्ने धारणा राखे ।