२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

माछाको उत्पादन वृद्धि गर्न प्रो-बायोटिकको प्रयोग

बुधवार , भाद्र ५, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, ५ भदौ । 
    रुपन्देहीका माछापालक किसानहरु प्रो–बायोटिकतर्फ आर्कषित भएका छन् । यसको प्रयोगले माछाको मृत्युदर कम भइ उत्पादनमा वृद्धि भएका कारण किसानहरु यसतर्फ आकर्षित भएका हुन् । प्रो–बायोटिकको प्रयोगले माछाको उत्पादन बढेको मात्र नभइ हेर्दा पनि चिल्लो र आकर्षक भएका कारण यसको बजार पनि राम्रो हुँदै गएको किसाननहरुको भनाइ छ ।

    प्रो–बायोटिक एक लाभदायक जीवित सुक्ष्म जीव (ब्याक्टेरिया) हो । यसले माछापालनमा प्रयोग गर्दा माछाको स्वास्थ्य प्रवद्र्धन, वृद्धि सुधार र पानीको वातावरणीय अवस्थाहरुलाई सुधार गर्छ । नांगो आँखाले देख्न नसकिने प्रो–बायोटिकलाई दानासँगै र सिधै पानीमा घोलेर माछाहरुलाई दिने गरिएको छ ।
    ‘हामीले यसको प्रयोगबाट राम्रो लाभ लिएका छौं । रुपन्देहीको सियारीका किसान सिकन्दर सिंहले भने, ‘उत्पादन राम्रो छ, माछा मर्ने क्रम न्युन भएको छ ।’ विगतमा माछा मरेर किसानले लाखौं रुपैयाँको क्षति व्यहोरिरहेको उनले बताए । उनका अनुसार प्रो–बायोटिक प्रयोग गर्न थालेपछि क्षति हट्नुका साथै किसानलाई फाइदा पुगेको छ । 
    प्रो–बायोटिक विशेषतः २ प्रकारको हुने गरेको छ । दानामा प्रयोग गरी दिइने प्रो–बायोटिक र सोझै पानीमा प्रयोग गरिने प्रो–बायोटिक । यी दुवै प्रकारको प्रो–बायोटिकको भने आफ्नै विशेषताहरु छन् ।

    दानामा प्रयोग गरी दिइने प्रो–बायोटिकले माछाको आन्द्रामा रही हानीकारक सुक्ष्म जीवहरुसँग प्रतिष्पर्धा गर्दछ भने माछाको दानालाई प्रभावकारी रुपमा पचाउन पनि सहयोग गर्छ ।

    प्रो–बायोटिकले आन्द्राको स्वास्थ्य सुधार गरी माछाको वृद्धि विकास तथा बाँच्ने दरमा वृद्धि गर्न योगदान पु¥याउँछ । यसले माछाको रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै पोखरीको पानीलाई पनि माछाको अनुकुल हुने गरी सफा राख्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रुपन्देहीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए ।

    त्यस्तै पानीमा प्रयोग गरी दिइने प्रो–बायोटिकले जैविक फोहोरलाई कुहाएर पानीको गुणस्तर राम्रो बनाउन मद्दत गर्ने र पानीभित्रको पोषक तत्वलाई पुनः प्रयोगमा ल्याउन योगदान पुयाउँछ । 

    परियोजनाका कृषि अधिकृत लक्ष्मी कार्की अनुसार यसले पोखरीमा हुने हानीकारक ग्याँसहरुको स्तर घटाउँछ । ‘यसले माछाको लागि स्वस्थ वातावरणको सिर्जना गर्छ । यस्तै प्रो–बायोटिकले माछालाई रोग लगाउने ब्याक्टेरियाको वृद्धि रोकेर रसायनिक उपचारको प्रयोगलाई घटाउन पनि सहयोग गर्छ’, उनले भनिन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देही माछा सुपर जोन प्रभाव क्षेत्रमा प्रो बायोटिक प्रविधि प्रदर्शन कार्यक्रम सञ्चालन गरिरहको छ । माछा सुपरजोनका संयोजक कपिल न्यौपानेले यसका प्रयोग अहिले सुपर जोनमा बढ्दो रहेको बताए ।

    सुरुमा रुपन्देहीको सियारीस्थित छपियामा मात्र केन्द्रित रहेको माछापालन (खेती) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएसँगै सियारी गाउँपालिका हुँदै, शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिकासम्म फैलिएको छ । माछा सुपरजोन अन्तर्गत अहिले १ हजार १ सय ९ हेक्टर जलाशय रहेकोमा ८ सय ८७ हेक्टरमा माछा खेती हुँदै आएको छ । 

    प्रतिहेक्टर ६ मेट्रिकटन उत्पादन औषत रहेको सुपरजोनमा आर्थिक वर्ष २०८०–०८१ मा करिब ६ हजार मेट्रिकटन माछा उत्पादन भएको थियो । करिब २ सय रुपैयाँ प्रतिकिलोको दरले सवा अर्ब मूल्य बराबरको माछा विक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । सुपर जोन अन्तर्गत महिला उद्यमीबाट सञ्चालित मत्स्य फार्म ५७ वटा र युवाहरुबाट सञ्चालिन मत्स्य फर्म १ सय ५५ वटा छन् ।