images

बुधवार, बैशाख १९ गते २०८१

रुपन्देहीमा ५३ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता

रुपन्देहीमा ५३ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता

images
images
images
मंगलवार, फाल्गुण १८ २०७७
मंगलवार, फाल्गुण १८ २०७७
  • रुपन्देहीमा ५३ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता

    भैरहवा, १८ फागुन ।
    रुपन्देही जिल्लामा सञ्चालित ३८ हजार ४ सय ३ प्रतिष्ठानहरुमध्ये २० हजार ३ सय ६९ अर्थात ५३ दशमलव १ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता भएको राष्ट्रिय आर्थिक गणना २०७५ ले तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै जिल्लामा कुनै पनि सरकारी निकायमा दर्ता नभएका प्रतिष्ठानको संख्या १८ हजार ३१ अर्थात ४६ दशमलव ९ रहेको छ । 

    images

    रुपन्देहीमा सञ्चालित प्रतिष्ठानमा १ लाख ३४ हजार ७ सय ७२ जना जनशक्ति कार्यरत रहेको र जसमध्ये ९४ हजार ३ सय ५७ अर्थात ७० प्रतिशत पुरुष तथा ४० हजार ४ सय १५ अर्थात ३० प्रतिशत रहेका छन् ।

    तथ्यांक कार्यालय कपिलवस्तुले सोमबार भैरहवामा आयोजना गरेको राष्ट्रिय आर्थिक गणना २०७५ नतिजा सार्वजनिक गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

    राष्ट्रिय आर्थिक गणना अनुसार नेपालमा सञ्चालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेको छ । जसमध्ये सरकारी निकायमा दर्ता भएका ४ लाख ६२ हजार ६ सय ५ अर्थात ५० दशमलव १ प्रतिशत र दर्ता नभएका ४ लाख ६० हजार ४ सय २२ अर्थात ४९ दशमलव ९ प्रतिशत रहेको छ । 

    त्यस्तै लुम्बिनी प्रदेशमा सञ्चालित प्रतिष्ठानहरुको संख्या १ लाख ४७ हजार ७ सय ८९ रहेको तथ्यांक सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रतिष्ठान रुपन्देहीमा रहेको तथ्यांक कार्यालयले जनाएको छ । प्रदेशमा बढी प्रतिष्ठान हुने पाँच जिल्लामध्ये रुपन्देहीमा ३८ हजार ४ सय ३ (२५ दशमलव ९९ प्रतिशत), बाँकेमा १८ हजार ६ सय ६६ (१२ दशमलव ६३ प्रतिशत), बर्दियामा  १४ हजार ४ सय २१ (१० दशमलव ८ प्रतिशत), दाङमा १४ हजार ४ सय २१ (९ दशमलव ७६ प्रतिशत) र कपिलवस्तुुमा १३ हजार ६ सय ७ (८ दशमलव २१ प्रतिशत) रहेको तथ्यांक कार्यालय कपिलवस्तुका तथ्यांक अधिकृत नन्दलाल कुर्मीले बताए । पूर्वी रुकुममा प्रदेशकै सबैभन्दा कम १ हजार २० अर्थात शुन्य दशमलव ६९ प्रतिशत प्रतिष्ठान सञ्चालनमा रहेको कुर्मीले जानकारी दिए ।

    रुपन्देहीका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा प्रतिष्ठान सञ्चालित छन् । बुटवल उपमहानगरपालिकामा १० हजार १ सय ४२ अर्थात २६ दशमलव ४ प्रतिशत, तिलोत्तमामा ५ हजार १ सय ६३, सिद्धार्थनगरमा ४ हजार ४ सय ६७, सैनामैनामा २ हजार ४ सय २८, देवदहमा २ हजार १ सय ७१ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार ९ सय ५८ प्रतिष्ठान सञ्चालनमा छन् ।

    त्यस्तै मायादेवीमा १ हजार ७ सय ४०, ओमसतियामा १ हजार ४ सय १५, शुद्धोधनमा १ हजार ३ सय ६, सियारीमा १ हजार २ सय ९०, गैडहवामा १ हजार १ सय ८१, कञ्चनमा १ हजार १ सय ६९, सम्मरीमाईमा १ हजार १ सय ४८, रोहिणीमा १ हजार १ सय २६, कोटहीमाईमा ९ सय ५४ र मर्चवारीमा ७ सय ४५ प्रतिष्ठान सञ्चालनमा छन् ।

    त्यस्तै रुपन्देहीमा सञ्चालित प्रतिष्ठानमध्ये १ सय जना भन्दा बढी जनशक्ति संलग्न रहेको प्रतिष्ठानको संख्या ९८ रहेको छ । त्यसै गरी २३ हजार २ सय ३० अर्थात ६० दशमलव ४९ प्रतिशत थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत अन्तर्गत रहेको तथ्यांकमा उल्लेख छ ।

    आर्थिक गणना अनुसार रुपन्देहीमा १६ हजार ८ सय अर्थात ४३ दशमलव ७५ प्रतिशत प्रतिष्ठान आफै बसोबास गर्ने घरमा नै सञ्चालनमा छन् । त्यस्तै जिल्लामा २० हजार ९ सय ६९ अर्थात ५५ दशमलव ७१ प्रतिशतले कारोबारको स्रेस्ता राख्ने गरेको र १६ हजार ६ सय ६२ अर्थात ४४ दशमलव ४२ प्रतिशत प्रतिष्ठानले लेखास्रेता राख्ने गरेका छैनन् ।

    त्यसै गरी लुम्बिनी प्रदेशमा एउटा प्रतिष्ठानमा औसतमा ३ दशमलव २ र रुपन्देहीमा औसतमा ३ दशमलव ५ जना जनशक्ति कार्यरत छन् । आर्थिक गणना अनुसार रुपन्देहीको प्रतिष्ठान घनत्व २८ प्रति वर्गकिलोमिटर र नेपालको प्रतिष्ठान घनत्व ६ दशमलव ३ प्रति वर्गकिलोमिटर रहेको छ । 

    आर्थिक तथ्यांकको आधारका रुपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघ–संस्था लगायत प्रतिष्ठानहरु (आर्थिक इकाइहरु)को विवरण संकलन गर्ने उद्देश्यले केन्द्रीय तथ्यांक विभागले २०७५ वैशाख १ देखि जेठ ३१ गतेसम्म नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गरेको थियो । गणनामा कागजी प्रश्नावली फारमका साथै अनलाइन सर्वेक्षणमार्फत उत्तरदाताले आफ्नो प्रतिष्ठानको विवरण आफै भर्न सक्ने र गणकमार्फत ट्वावलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सक्ने विधि अपनाइएको थियो । 

    कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पहिलो आर्थिक गणनामा केही कमीकमजोरी भए पनि आगामी दिनमा पनि यसलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले आर्थिक गणनाको तथ्यांक पूर्ण नभए पनि आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले गणना अध्ययन गर्न लायक रहेको बताए । उनले आगामी दिनमा तथ्यांक कार्यालय र निजी क्षेत्रबीच अन्तरक्रिया र छलफल गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij