शनिवार , मंसिर ६, २०८२
तिलोत्तमा, ६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ वडा कार्यालयको आयोजनामा शुक्रबार ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा सामग्री र निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । वडा कार्यालयले अघिलो वर्षहरुमा जस्तै यस वर्ष पनि ७३ बर्षदेखि ७६ बर्षसम्मका १ सय ३६ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन उनीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गर्दै एक कार्यक्रमकाबीच १ सेट कम्बल, यातायात खर्च (नगद) र सम्मानपत्रसहित सम्मान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ भित्रका ज्येष्ठ नागरिकहरु र टोल विकास समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाअध्यक्ष गणेश पाठकले आमाबुवाको सम्मान गर्ने र उनीहरुको आर्शीवाद शिरोपर गर्दै अभिभावकले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो । पछिल्लो समय घरघरमा संस्कारमा कमी हुँदै गएको अवस्थाले देशमा विषम परिस्थिति सृजना भएको भन्दै बरु सडक एकैछिन नबनाए पनि हुने तर, संस्कार समाजमा बसाउन ठुलाको आर्शीवाद र सानालाई माया गर्ने बानीको सकारात्मक विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भौतिक विकास भन्दा मानवीय विकास अहिलेको टड्कारो आवश्यकता रहेकोले ज्येष्ठ नागरिकको अनुभव साट्न र परम्परा जोगाउन यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो ।
सो अवसरमा बोल्दै नगरप्रमुख खाणले परिवारको खुसी भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागिभन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताउनुभयो । निकट भविष्यमै दीर्घरोगी र बिरामीहरुका लागि नगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्ने तयारी पूरा गरेकोले अबका दिनमा नागरिकको घरघरमा स्वास्थ्य सम्बन्धि विशेष कार्यक्रम ल्याउने समेत बताउनुभयो । हरेक छोराछोरीले आफ्ना बुवाआमालाई उनीहरुले देखाएको बाटोमा लाग्नुपर्ने बताउँदै नगरप्रमुख खाणले कोही ज्येष्ठ नागरिकले दुःख पाएककक र छोराछोरीले नहेरेको भए सिधै नगरपालिका वा जनप्रतिनिधिलाई आएर खबर गर्न अनुरोध समेत गर्नुभयो । उहाँले अबको दिनमा तिलोत्तमाका नागरिक ८४ पूजा गर्न सक्ने र शतक आयु हुने तबरले बाबुआमालाई छोराछोरीले माया गर्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचार र औषधीसमेत वितरण गरिएको सो सम्मान कार्यक्रममा वडा नम्बर ६ को सराहनीय कामको ज्येष्ठ नागरिकका परिवारहरुले तारिफ गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक, उनीहरुका घरपरिवारका सदस्य, वडा सदस्यहरु पुर्ण प्रसाद (संजय) आचार्य, गोबिन्द प्रसाद रिजाल, सीता गौतम, गीता गन्धर्व, स्वास्थ्य चौकीका राम प्रसाद चुंदालीको टीम, टोल विकासका अध्यक्षहरु सरोकारवाला, वडा कार्यालयका कर्मचारी, स्थानीयबासी लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij