
आइतवार , फाल्गुण १६, २०७७
भैरहवा, १६ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ कार्यालयले आफ्नो वडामा रहेका विपन्न विद्यार्थीलाई विद्यालय पोशाक तथा विद्यालयलाई खेल सामाग्री वितरण गरेको छ । वडाले विनियोजन गरेको बजेटबाट वडा अन्र्तगत रहेका ३ वटा सामुदायिक विद्यालय तथा ३ वटा मदरसामा उक्त सामाग्री वितरण गरेको हो ।
विद्यार्थीहरुलाई पोशाक एवं खेल सामाग्री वितरण गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले कोभिड–१९ को कारणले विद्यार्थीको पठनपाठनमा नराम्रो असर पारेको भए पनि अब त्यसबाट निस्केर विद्यालयहरुले उत्कृष्ट नतिजा ल्याउनतर्फ ध्यान दिन आग्रह गरे । उनले गाउँपालिकाले अहिले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेको र आउदा दिनमा त्यसको प्रतिफल देखिने बताए । विद्यालयहरुको भौतिक विकासको साथै त्यहाँको शिक्षक र विद्यार्थीको गुणस्तरलाई बढाउन गाउँपालिकाले थप के गर्नुपर्ने हो त्यसबारे पनि सुझाव दिन आग्रह गरेका थिए ।
रोहिणी गाउँपालिका वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष सानमति पासीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, निर्वतमान वडाअध्यक्ष सरोज कुमार पाण्डे, वडा सदस्य अनरुध प्रसाद खरविन्दले बोलेका थिए । कार्यक्रम संयोजक तथा वडा नम्बर २ का सचिव राजकुमार मिश्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij