बुधवार , फाल्गुण १२, २०७७
बुटवल, १२ फागुन।
प्रधानमन्त्री खड्गप्रसाद शर्माओलीले पुष ५ गते हठात गरेको प्रतिनिधी सभा बिघटनको निर्णयलाई सर्बोच्च अदालतको फैसलाले बदर गरेसँगै देशैभर स्वागतका कार्यक्रमहरु भैरहेका छन्। प्रतिनिधी सभा बिघटनको कदम असंबैधानिक, अलोकतान्त्रिक र स्वच्छेचारी कदम भएको र यसलाई तत्काल सच्चाउनु पर्ने माग राख्दै सर्बोच्चमा परेका निवेदन उपर फैसला आदेश जारी गर्दै सर्बोच्चले बदर गरेको हो।
सर्बोच्चको निर्णयको स्वागत गर्दै आज बुटवलमा नेकपा दाहाल–नेपाल समुहद्वारा जुलुश तथा कोण सभाको आयोजना गरियो। राजमार्ग चौराहाबाट बाजागाजा सहित शुरुभएको स्वागत र्यालीले मिलनचोक, अस्पताललाईन, बिपि चौकहुँदै ट्राफिक चोक पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै नेताहरुले प्रम ओलीको सिफारिसमा तत्कालै राष्ट्रपतिले स्विकृत गरेको प्रतिनिधी सभा बिघटनको कदम नेपालको संबिधान, जनताको चाहाना र भावना बिपरित भएकोले अदालतको निर्णयले सच्चाएको बताए।
सभालाई सम्बोधन गर्दै नेकपा दाहाल–नेपाल समुहका केन्द्रिय सदस्य एवं पुर्व माओबादी नेता बामदेव क्षेत्रीले जनताको आशा र भरोसाको केन्द्र सर्बोच्च अदालतको प्रतिनिधी सभा पुनःस्थापना गर्ने निर्णयको स्वागत गर्दै प्रम ओलीले अझैपनि लोकतन्त्रमाथि षडयन्त्र गर्न सक्ने संभावना रहेकोले सबै सचेत रहनुपर्ने बताए। पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङ्गले प्रम केपि ओलीले नेपाल र नेपाली जनतालाई धोका दिएको भन्दै पार्टी र सरकारलाई समेत घात गरेको टिप्पणी गरेका थिए।
कार्यक्रममा सहभागिहरुले बिभिन्न नारा जुलुश गर्दै पन्चेबाजामा नाचगान गरेर खुशीयाली साटासाट गरेका थिए।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij