images

बुधवार, बैशाख १९ गते २०८१

सिद्धार्थनगरको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ : नगरप्रमुख खाँ

सिद्धार्थनगरको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ : नगरप्रमुख खाँ

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • सिद्धार्थनगरको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ : नगरप्रमुख खाँ

    इस्तियाक अहमद खाँ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) हुन् । नेपाली काँग्रेसको तर्फबाट २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका खाँ सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन् । उनी सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको रुपमा परिचित छन् । २०७० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उनी संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

    images

    प्रस्तुत छ नगरप्रमुख खाँसँग सिद्धार्थनगरको विकाससँग सम्बन्धित रहेर गरिएको कुराकानीको सारसंक्षेप :

    यहाँ झण्डै २ वर्षदेखि सिद्धार्थनगर नगरपालिकाको नेतृत्वमा हुनुहुन्छ, नगरका प्रमुख समस्या के देख्नुभयो ?

    फोहोरमैला व्यवस्थापन यहाँको मुख्य समस्या हो । त्यसबाहेक छाडा चौपाया, ठेला, ई–रिक्सा व्यवस्थापन जस्ता समस्या पनि छन् । देख्दा सामान्य लाग्ने यी समस्याले नगरको विकासमा बाधा पुगिरहेको छ ।

    यहाँले प्रमुख समस्याको रुपमा फोहोरमैला व्यवस्थापन भन्नुभो, यस विषयमा कुनै ठोस योजना छ कि ?

    सिद्धार्थनगर नगरपालिकालाई मात्र फोहोरमैला व्यवस्थापनको चिन्ता होइन, अरु पालिकाहरुलाई पनि छ । फोहोरमैला प्रशोधन केन्द्र बनाउन सिद्धार्थनगर, ओमसतिया र रोहिणी गाउँपालिकाबीच समझदारी गरिसकेका छौं । रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित सेमरपानीमा रोहिणी किनारमा रहेको ८ बिगाह जग्गामा फोहोरमैला प्रशोधन केन्द्र बनाउने सहमति ग¥यौं । बेलहियाबाट बाइपास बनाएर सडक लैजाने र रोहिणीमा पक्की पुल बनाएपछि त्यहाँ पुगिन्छ । तीनवटा पालिकाको फोहोर उठाएर त्यहाँ लैजाने र प्रशोधन गर्ने योजना छ । प्रशोधन गरी एकातिर मल बनाउने र अर्कोतिर बायोग्याँस निकालेर तीनपांग्रे गाडी चलाउन प्रयोग गर्ने हाम्रो योजना हो । धुँवा वा अन्य फोहोर हुने या वातावरणलाई असर पर्ने केही हुँदैन । डेढ÷दुई अर्बको परियोजना हो त्यो । जसले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नेदेखि वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्छ । तर, यसमा पनि चरम राजनीति भएको छ । जसले गर्दा यो समझदारी कार्यान्वयनमा बाधा पुगेको छ । ३७ करोड रुपैयाँ बजेट पनि फिर्ता गयो । मैले राजनीतिक रुपमा पहल गरें, तर सफल भइन । स्थानीय सोझा गाउँलेलाई उचालेर राजनीतिको नाममा केही तत्वहरुले समाजमा विकास हुन नदिन लागिपरेका छन् ।

    भनेपछि फोहोर प्रशोधन केन्द्र बनेन भने सिद्धार्थनगरको समस्या ज्यूँ का त्यूँ हुने भो है ।

    फोहोरमैला प्रशोधन केन्द्र बनाउने नै हो । सडक, पुल बनाउनुपर्ने, ठूलो लगानी भएकाले त्यसका लागि केही समय त लाग्छ नै । त्यतिञ्जेलसम्म फोहोरमैला व्यवस्थापन गर्न भारतीय र कोरियन दुईवटा मेशिन हेरिरहेका छौं । भारतीय मेशिनले सिसा, फलामबाहेक एक गाडी फोहोरमैला धुलो बनाएर एक बोरा गराइदिन्छ । त्यो धुलो सडकमा हालेर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । अर्को कोरियन मेशिनले फोहोरमैला भित्रै जलाउँछ । त्यसबाट धुँवा वा अन्य प्रदुषण आउँदैन । यी दुईवटा मेशिनलाई पाइलटको रुपमा प्रयोग गरेर भए पनि फोहोरमैलाको स्थायी समाधानतर्फ जानुपर्ने आवश्यकता छ ।

    सिद्धार्थनगरको विकासका लागि चुनावको समयमा निकै आकर्षक घोषणापत्र सार्वजनिक भएको थियो, त्यस अनुसार के कस्ता काम हुँदैछन् ?

    घोषणापत्र हाम्रो गाइडलाइन थियो । त्यसैअनुसारका काम अघि बढेका छन् । यहाँको मुख्य समस्यामध्ये छाडा गाईगोरु व्यवस्थापनका लागि वडा नम्बर ११ मा गौशाला बनाउने काम सुरु भएको छ । गौशाला बनेपछि झण्डै ४ सय गाईगोरुको व्यवस्थापन हुनेछ । सरसफाइको लागि मैले भनी नै सकें । ट्राफिक लाईटको व्यवस्था भएको छ । क्रियापुत्री भवन बनाउने तयारी छ । कतिपय कामहरु सुरु गर्न बाँकी छ । अबको ३ वर्षभित्र सबै काम सम्पन्न गर्ने योजना छ ।

    योजनाहरु के कसरी अगाडि बढ्दैछन् ?

    सबैभन्दा महत्वपूर्ण कुरा त सिद्धार्थनगरको विकासका लागि एशियाली विकास बैंक (एडीबी) ले लगातार सहयोग गरिरहेको छ । दुई चरणका परियोजना सम्पन्न भएर तेस्रो चरणको लागि सम्झौता भइसकेको छ । म मेयरमा निर्वाचित भएको एक सातामै एसियाली विकास बैंक (एडीबी) बाट  सहयोग तथा दीर्घकालीन ऋणका लागि कुरा गरेको थिएँ । २७ किलोमीटर सडकसहित सिद्धार्थनगरको मुहार फेर्न तीनवर्षे सम्झौता भएको हो । सिद्धार्थनगरलाई लगातार सहयोग दियो भनेर कतिपय मेयरहरुले एडीबीमा भनेका थिए । तर, पनि हामी छनौटमा प¥यौं । मैले जापानीजहरुसँग पनि यहाँको विकासको लागि कुरा गरेको छु । डण्डा कोरिडोर १५ किलोमीटर, डण्डा कोरिडोर परियोजना (प्रोजेक्ट) को सपना मैले देखिरहेको छु । जापानीज दाताहरु सहयोग गर्न तयार छन् । तर स्थानीय पालिकाले सिधै सहयोग लिन नमिल्ने, संघीय सरकारमार्फत गर्नुपर्ने हुँदा ढिलाइ भरहेको छ । जति मलाई यहाँको विकासले पोलेको छ, त्यहीअनुसार संघीय सरकारका मन्त्रीलाई पनि हुँदो हो त यो प्रोजेक्ट अघि बढिसक्थ्यो ।

    यो पुरानो नगरपालिका हो । यसभन्दा पछाडि नगरपालिका बनेकाहरु अहिले उपमहानगर, महानगर भइसके, सिद्धार्थनगर किन पछाडि परेको होला ?

    ठीक हो, सिद्धार्थनगरको जुन प्रगति हुनुपर्ने हो त्यो हुन सकेको छैन । अब अहिले अरु पार्टी वा व्यक्तिलाई दोष दिने भन्दा पनि आफूले राम्रो गर्ने हो । मैले त सिद्धार्थनगर, ओमसतिया, रोहिणी, मायादेवी र सियारी मिलाएर उपमहानगर बनाउने भनेर छलफल सुरु गरिसकेको छु । यदि यी सबै पालिकाहरु मिलेर एउटै उपमहानगरपालिका बनाउन सके फोहोरमैलादेखि अन्य सबै समस्याको समाधान पनि सम्भव छ । यसमा सबै राजनीतिक दलहरु, नेताहरु, निर्वाचित जनप्रतिनिधिहरु लाग्नुपर्ने आवश्यकता छ ।

    तपाई निर्वाचित भएपछि व्यवसाय कर लगायत अन्य करहरु उच्च दरमा वृद्धि भयो । आर्थिक मन्दीले तहसनहस भइरहेको निजी क्षेत्रलाई तपाईले झनै निचोर्ने काम गर्नुभो भन्ने आरोप छ नी, कुरा के हो ?

    अहिलेको आर्थिक मन्दीमा यसरी चर्को कर नबढाउनु पर्ने हो, तर बढ्यो । मेयरको नाताले मैले जिम्मेवारी लिनैपर्छ । खास कुरा के हो भने यहाँका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत आन्तरिक राजस्व कार्यालयबाट आउनुभएको थियो । उहाँले केही प्रतिशत कर बढाउनुपर्छ भन्नुभयो । हामीलाई १ सय रुपैयाँमा एक पैसा बढाउने भन्नुभो, विश्वास गरियो । कर त यति धेरै बढेछ कि व्यवसायीलाई निकै मर्का परेको छ । त्यो कुरा सुरुमा हामीले बुझ्न सकेनौं, कर्मचारीमाथि विश्वास ग¥यौं । आफ्नै कर्मचारीमाथि अविश्वास गर्नु पनि उचित लागेन । १० प्रतिशतलाई केही फरक नपरे पनि ९० प्रतिशतलाई निकै ग्राहो छ । यसलाई अर्को वर्ष एडजष्ट (मिलान) गर्ने गरी सहमति भएको छ । कर त उठ्यो, तर व्यवसायीलाई मर्का पर्यो, सर्वसाधारणलाई मर्का पर्याे भन्ने महसुस भएको छ ।

    तपाईं नगरप्रमुख नेपाली काँग्रेसको तर्फबाट हुनुहुन्छ, उपप्रमुख नेकपा एमालेको । कार्यपालिकामा बहुमत नहुँदा काम कारवाहीहरु प्रभावित भएका त छैनन् नि ?

    राजनीतिमा अलिअलि मतभेद त एउटै पार्टीभित्र पनि भइहाल्छ भने फरक पार्टीका मान्छेबीच सामान्य कुरा हो । उपप्रमुख राम्रो हुनुहुन्छ, वडाअध्यक्षहरु पनि राम्रो हुनुहुन्छ । टीम राम्रो छ, दलहरुबाट पनि असहयोग भएको छैन ।

    केही योजनाहरु सम्पन्न भएर पनि असफल देखिए । जस्तै सुविधासम्पन्न हाटबजार बनाउने दुईवटा भवन सञ्चालन गर्नुपर्नेछ, अरु पनि होलान् ?

    हो, हाटबजारको एउटा भवन भाडामा लगाउन नीतिगत समस्या देखियो । वार्षिक १ करोड ३४ लाख रुपैयाँ बहालमा जान सकेन । अब घटाएर भए पनि त्यसलाई भाडामा लगाउने योजना छ । त्यसबाहेक लुम्बिनी जाने सडकमा बस खडा छन्, त्यसको व्यवस्थापन मिलाउनुपर्नेछ । ई–लाईब्रेरी बनाउनुपर्ने छ । गर्न धेरै छ ।

    अन्त्यमा केही भन्नुपर्ने छ कि ?

    तपाईहरुले नगरको विकासको लागि जनतालाई सकारात्मक बनाउन भूमिका खेल्नुपर्छ । नगरपालिकामा वातावरणलाई असर गर्ने प्लाष्टिक प्रतिबन्ध लगाउने योजना छ, गुट्खा नियन्त्रण पूर्ण कार्यान्वयन हुन सकेको छैन, त्यसलाई सबैको सहयोगले पूर्ण कार्यान्वयन गराउनुपर्नेछ । घरमै फोहोरमैलाको वर्गिकरण गरी गल्ने र नगल्ने अलगअलग पार्न जनचेतना जगाउनुपर्नेछ । रात्रीकालीन बजार सञ्चालन गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेछ । भारतीय पर्यटकलाई कम्तीमा भारु ५ लाख  रुपैयाँ लिएर नेपाल आउन सक्ने वातावरण मिलाउनुपर्नेछ । नगर हरियाली, हराभर बनाउनुपर्नेछ । यसका लागि सबैको सकारात्मक सोच, सहयोग र साथको खाँचो छ । त्यसका लागि म सबैसँग अपील गर्छु । म अघि लाग्ने मात्र हो, सबै नगरबासीको सहयोगले मात्र नगरको विकास र प्रवद्र्धन हुन सक्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij