२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

हिमाली सामुदायिकद्वारा सिद्धार्थ बालगृहलाई सहयोग हस्तान्तरण

शुक्रवार , आश्विन ३१, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ३१ असोज । हिमाली सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सिद्धार्थनगर–७, ८ र ९ बुद्धचोक भैरहवा, रुपन्देहीले बालगृहलाई सहयोग गरेको छ । सेवा केन्द्रले शुक्रबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई सहयोग हस्तान्तरण गरेको हो ।

    संस्थाको २५ औं स्थापना दिवसको अवसरमा पदाधिकारी र कार्यसमिति सदस्यबाट संकलित २५ हजार रुपैयाँ बालगृहलाई प्रदान गरिएको अध्यक्ष सुरेन्द्र जंग थापाले बताउनुभयो ।एक कार्यक्रमकाबीच सेवा केन्द्रका अध्यक्ष थापा, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी लगायतले बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले कृष्णमाया गुरुङ संघर्षशील महिला भएको बताउनुभयो । उहाँले बालगृहका लागि आवश्यक जग्गाको विषयमा धेरैपटक कुरा आएको बताउनुभयो । उहाँले राम्रो कामका लागि सबैले सहकार्य र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष चौधरीले बालगृहलाई एकदेखि डेढ लाखसम्मको सामग्री उपलब्ध गराउने बताउनुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले हिमाली सामुदायिक सेवा केन्द्रले प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले बालगृहलाई भवन आवश्यक भएको र त्यसका लागि पहिला जग्गा आवश्यक रहेको बताउनुभयो । जग्गा प्राप्ती भए भवन बनाउन समस्या नरहेको उहाँले बताउनुभयो ।

    बालगृहको सञ्चालक कृष्णमाया गुरुङले बालगृहको दिगो सञ्चालनका लागि जग्गाको आवश्यकता रहेको बताउनुभयो । उहाँले विभिन्न व्यक्ति र संघ–संस्थाको सहयोगबाट बालगृह सञ्चालन भएको तर, भाडा तिर्न समस्या आउने गरेको बताउनुभयो । सञ्चालक गुरुङका अनुसार बालगृहमा हाल १७ जना बालबालिका छन् ।

    हिमाली सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु मरासिनीले भदौ २५ गते नै बालगृहमा कार्यक्रम गर्ने तय भए पनि मुलुकको परिस्थितिका कारण गर्न नसकिएको बताउनुभयो । सेवा केन्द्रका सचिव खगेन्द्र शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।