images

मंगलवार, बैशाख १८ गते २०८१

व्यक्तिगत घटना दर्ता सप्ताह : आवश्यकता र औचित्य

व्यक्तिगत घटना दर्ता सप्ताह : आवश्यकता र औचित्य

घटना घटेको ३५ दिनभत्र व्यक्तिगत घटनाहरू आफ्नो वडा कार्यालयमा दर्ता गरौं र गराऔं ।

images
images
images
मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • व्यक्तिगत घटना दर्ता सप्ताह : आवश्यकता र औचित्य

    – ज्योत्सना हरिजन

    images

    व्यक्तिगत घटना के हो ?

    मानिसको जीवनमा सधैजसो घटिरहने घटना, यद्यपि कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यकता अनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाइँसराई र सम्बन्धबिच्छेद गरी पाँच किसिमका घटनाहरूलाई लिइन्छ । नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन २०३३ आएपछि २०३४ वैशाख १ गतेदेखि १० जिल्लाबाट सुरु गरी १७ चरणमा विस्तार गरिदै २०४७ वैशाख १ बाट नेपालभर लागू भएको हो ।

    सुरुमा गृह पञ्चायत मन्त्रालय अन्तर्गत रही जिल्ला प्रशासन कार्यालयमार्फत यो कार्य गरिंदै आएकोमा २०५० साउनबाट स्थानीय विकास मन्त्रालयको पञ्जिकरण शाखाबाट सञ्चालन हुन थालेको हो । मिति २०७५ असोजमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र र केन्द्रीय पञ्जिकरण विभागको एकीकरण पश्चात् पुनः गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको जिम्मेवारी हुने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली, २०७७ कार्यान्वयनमा छ । व्यक्तिको जीवनमा घटेका घटनाहरूको बारेमा राज्यलाई जानकारी गराउने उद्देश्यले यो घटना दर्ता प्रणाली लागू भएको हो । यी घटनाहरूले वैधानिकता पाउन, कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि कुनै न कुनै निकायमा व्यक्तिगत घटना दर्ता गर्न आवश्यक छ ।

    व्यक्तिगत घटना दर्ता कहाँ, कसले र कहिले दर्ता गर्ने ?

    नागरिकको जन्म, मृत्यु, बसाइँसराई, विवाह र सम्बन्धबिच्छेद जस्ता व्यक्तिगत घटनाको अभिलेख गरी प्रमाणपत्र दिने कार्य व्यक्तिगत घटना दर्ता हो । कानूनतः घटना घटेको ३५ दिनमा घटना दर्ता गर्ने व्यवस्था छ । यदी ३५ दिनभित्र घटना दर्ता गरेमा निःशुल्क दर्ता गर्ने व्यवस्था राज्यले दिएको छ भने ३५ दिन कटेमा न्यूनतम शुल्क लिइ घटना दर्ता हुन्छ । व्यक्तिगत घटना दर्ता आफू स्थानहरूमा बसोबास गरेको स्थानीय तह गाउँ, नगर/उपमहानगर/महानगरपालिका अन्तर्गतको वडा कार्यालयमा गर्नुपर्ने नियम छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक केन्द्रिय पञ्जिकाधिकारी हुन्छ भने ती पञ्जिकाधिकारी मातहतमा रहने गरी स्थानीय तहमा रहेका अधिकारीहरूमध्येबाट स्थानीय पञ्जिकाधिकारी भनेर तोकिएको हुन्छ । सामान्यतः वडा कार्यालयमा रहेका वडा सचिवलाई स्थानीय पञ्जिकाधिकारीको जिम्मा हुने भएकोले निवेदन दिइ घटना दर्ता गर्नुपर्दछ । मुलुकमा ६७४३ वडा कार्यालयहरूमध्ये ६६९४ वडा कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विकास गरेको एमआइएस अनलाइन प्रणाली (MIS Online) बाट घटना दर्ता भइहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली, २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जिकरण सम्बन्धी कार्य गरिने व्यवस्था भए बमोजिम मिति २०८०।११।२१ देखि चीन, कतार, जापान, फ्रान्स, स्पेन, संयुक्त अधिराज्य, अष्ट्रेलिया, अमेरिका, जर्मनी, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा, संयुक्त अरब इमिरेट्सका देशहरूको नेपाली नियोगबाट व्यक्तिगत घटनाहरू (हाललाई जन्म र मृत्यु दर्ता) प्रक्रियाको सुरुवात भएको छ ।

    व्यक्तिगत घटना दर्ताको महत्व

    नेपालको जनसांख्यिक संरचनाको यथार्थ अवस्था झल्काउनको लागि व्यक्तिगत घटना दर्तालाई निरन्तर अद्यावधिक गर्नुपर्ने हुन्छ । यसो गर्दा नीति निर्माण सेवा प्रवाह, विकास निर्माण लगायतका लागि राज्यले आवश्यक परेको समयमा सही तथ्यांक प्राप्त गर्न सक्छ । तथ्यांकमा आधारित नीति निर्माण र विकास प्रणालीले सार्थक नतिजा देखिने हुँदा घटना दर्ता आर्थिक, सामाजिक लगायत सबै आयामबाट महत्वपूर्ण छ । व्यक्तिगत घटना दर्ताले व्यक्तिको नाम, थर, उमेर, राष्ट्रियता, लैंगिकता, पारिवारिक नाता सम्बन्ध तथा बसोबाससहितको कानूनी पहिचान दिने भएकोले सामाजिक न्याय, मौलिक हक कार्यान्वयन र सुशासन प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको संविधानले प्रदत्त गरेको हकलाई कार्यान्वयन गर्न र सरकारले तय गरेको विकासका उद्देश्यलाई पूरा गर्नका लागि व्यक्तिगत घटना दर्तालाई जोड दिनु आवश्यक छ । व्यक्तिको जीवनमा घटेका घटनाहरूको बारेमा राज्यलाई जानकारी गराउने र व्यक्ति र राज्यसँगको भेटघाट गर्ने उद्देश्यले यो प्रणाली आएको हो । व्यक्ति जन्मेदेखि मृत्युसम्मको सूचना राज्यलाई जानकारी हुने भएकोले यो एकदम महत्वपूर्ण छ ।

    व्यक्तिगत घटना दर्ता सप्ताह किन ?

    नेपालमा वि.सं. २०३४ वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको हुँदा वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइन्छ भने व्यक्तिगत घटना दर्ताको महत्वबारे प्रचारप्रसार गर्ने अभिप्रायले विगतका केही वर्ष (२०७६) देखि वैशाख गते १ गतेदेखि ७ गतेसम्मलाई ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ को रुपमा मनाइदै आइरहेका छाैं । अहिले पनि के देखिन्छ भने घटना हुनेबित्तिकै दर्ता गर्नुपर्ने हो तर, हुँदैन । जब नागरिकलाई आवश्यकता पर्छ त्यति बेला मात्र दर्ता गर्ने चलन रहेको छ । जस्तै विद्यालयमा काम पर्‍यो भने, जग्गाको नामसारी गर्नुपर्‍यो भने, विधवा महिलाले भत्ता लिनुपर्‍यो भने । यस्तो अवस्थामा मात्र दर्ता गराउने चलन छ । नागरिकलाई अझ पनि घटना दर्ता गर्नुपर्छ यसलाई पनि निश्चित समय ३५ दिनभित्र सबै घटना दर्ता गर्नुपर्छ भन्ने जनचेतनाको अभाव छ ।

    नेपाल सरकारले सन् २०२४ सम्ममा सम्पूर्ण नेपाली नागरिकको जन्मदर्ता शतप्रतिशत पुर्‍याउनुपर्ने र अन्य व्यक्तिगत घटना दर्तामा समेत उल्लेख्य रुपमा वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता जाहेर गरेको सन्दर्भमा उक्त प्रतिवद्धता पूरा गर्न, व्यक्तिगत घटना दर्ता नागरिकको कर्तव्यको रुपमा स्थापित गराउँदै घटना दर्तालाई व्यापक रुपमा विस्तार गर्ने उद्देश्यले यो अभियान देशव्यापी रुपमा सञ्चालन गरिएको हो । त्यसैले यो सबैले गर्नुपर्छ । यदी गरिएन भने हामीले राज्यबाट पाउने सेवासुविधाबाट पनि वञ्चित हुनुपर्छ । जस्तै जन्म दर्ता गरेनौ भने खोपबाट वञ्चित हुन्छौ, विद्यालयमा भर्ना हुन नसक्ने अवस्था आउन सक्छ, दलित तथा क्षेत्र तोकिएका बालबालिकाले पोषण भत्ता/सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुन्छन् ।

    मृत्यु दर्ता गरिएन भने चलअचल सम्पत्तिको हक हस्तान्तरण हुन सक्दैन । बसाइँसराई गरेर एक ठाँउबाट अर्को ठाँउमा गएको त्यसलाई दर्ता गरिएन भने । कुन स्थानीय तह बाट कति जना कता बसाइँसराई गरेर गए थाहा हुँदैन । बसाईसराई गरेर आउने ठाउँले पनि कसरी योजना बनाउने, जानेले पनि यहाँबाट धेरै जान थाले भने यसलाई रोक्नको लागि के योजना बनाउने भन्ने बारेमा पनि जानकारी हुँदैन । त्यसैले यी प्रत्येक घटनाहरूको आ–आफ्नै महत्व छ । व्यक्तिगत घटना दर्तालाई आम नागरिकसम्म पुर्‍याउने सबैले व्यक्तिगत घटना दर्ता गर्ने, कोही पनि नछुटुन भन्ने उद्देश्यले व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको हो । यो अभियानमा आफ्ना छुटेका व्यक्तिगत घटना दर्ताहरु दर्ता गराउनुहुन अनुरोध गर्दै व्यक्तिगत घटना दर्ता सप्ताहको सफलताको शुभकामना व्यक्त गर्दछु ।

    पुनश्च : झूठा विवरण पेश गरी कुनै पनि घटना दर्ताको प्रमाणपत्र लिएमा ऐनको दफा ४१ बमोजिम सजाय हुनेछ ।

    (लेखक सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको एम.आई.एस. अपरेटर हुन् ।)

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij