२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संविधानमा उल्लेख भएका अधिकारबाट वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो

सोमवार , चैत्र २६, २०८०

भैरहवा, २६ चैत ।
संविधानमा उल्लेख भएका कतिपय अधिकारबाट आफूहरु वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गुनासो गरेका छन् । उनीहरुले संविधानमा उल्लेख भएका अधिकार पनि व्यवहारमा लागू हुन नसकेको तथा सामाजिक रुपमा स्वीकार गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वर्तमान मानव अधिकारको अवस्था र आगामी बाटो विषयक स्थानीय सरकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 

एक्लोलाई सहारा दिने वृक्ष समूह सिद्धार्थनगर नगरपालिका–८ भैरहवा, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको सहयोगमा आइतबार भएको उक्त कार्यक्रममा बोल्ने सहभागीहरुले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि राम्रा कुरा आए पनि कार्यान्वयन हुन नसक्दा यो समुदाय मर्कामा परेको बताए ।

कार्यक्रममा एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यक्रम संयोजक तथा कार्यालय प्रमुख मनिला न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई नागरिकता लिन पनि कठिनाइ रहेको बताइन् । उनले भनिन्, ‘हामीले आफ्नो पहिचान अनुसारको नागरिकता पाउनुपर्छ । सरल र सहज तरिकाले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनौ । संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन हुन नसक्दा मर्कामा परेका छौं । ’
स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई रोजगारीसँग जोड्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले विभिन्न फैसला गरेकोले त्यो कार्यान्यवन हुनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उचित पहिचान र हकअधिकार सुनिश्चित गरेको छ । संविधान प्रदत्त हकआधिकार पाएका अल्पसंख्यक समुदायको अधिकारविरुद्ध कुनै काम गर्न छुट कसैलाई पनि कुनै रुपमा छैन ।’

समूहकी अध्यक्ष अस्मिता रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गरेका राम्रा कामको चर्चा हुन नसकेको बताइन् । उनले परिवार र समाजले अझै पनि यो समुदायलाई स्वीकार्न नसक्दा समस्यामा परेको बताए ।

समूहका सचिव रेशम न्यौपानेले बिहान साँझ के खाने भन्ने चिन्ता रहेकोले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मागहरु नजिकको सरकार स्थानीय सरकारले सम्बोधन गर्न सक्ने बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकार तथा यो समुदायको उत्थानका लागि गाउँपालिकाकोतर्फबाट सहयोग गर्छौं ।’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले सबै समुदायलाई सम्माजनक रुपमा व्यवहार गर्नुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले ग्रामीणस्तरबाटै मानसिकताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने, ‘सबैलाई समेट्नु राज्यको दायित्व हो । विभेदमा परेका व्यक्ति तथा समुदायले आफ्नो पीडा महसुस गर्न सक्छ । ’

रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले आफ्ना अधिकारका लागि आवाज उठाउन सकिने बताए ।

गाउँपालिकाका सव-इञ्जिनियर राज कुमार मिश्राले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या समाधान गर्नुपर्ने बताए ।

रोहिणीका रामनारायण मल्लाह, दुःखीराम हरिजनलगायतले बोल्दै पशुपालन पेशाका लागि गाउँपालिकाले सहयोग गनुपर्ने माग गरे । 

IMG_3962.JPG
IMG_3962.JPG