२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

सबै क्षेत्र चलायमान गराउने नीति ल्याउन राष्ट्र बैंकलाई सञ्जालको आग्रह

शुक्रवार , फाल्गुण १८, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • भैरहवा, १८ फागुन ।
    सिद्धार्थ सञ्जाल, रुपन्देहीले सबै क्षेत्र चलायमान गराउने नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । बिहीबार राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले विद्यमान वित्तीय समस्या समाधानका लागि नीति ल्याउन आग्रह गरेको हो ।

    बैंक तथा वित्तीय संस्थाको नियमन निकाय नेपाल राष्ट्र बैंकले बेलाबेलामा जारी गरेको पोलिसीको सही सदुपयोग नहुँदा विद्यमान अवस्थामा देशको वित्तीय क्षेत्रमा असर पुगेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘कोभिड–१९ पछिको आर्थिक मन्दीको बेलामा बैंकले उद्योगी–व्यवसायीलाई लगानीको ब्याजदर घटाएर केही भए पनि मलम लगाउनुको सट्टा अधिकतम ब्याज बढाएर ७ प्रतिशतको कर्जाको ब्याजदर १६ प्रतिशतसम्म पुर्याउँदा उद्योगी–व्यवसायीले आफ्ना उद्योग–व्यवसाय बन्द गरी जायजेथा बैंकलाई सुम्पन बाध्य छन् ।’

    सञ्जालले ज्ञापनपत्रमार्फत राष्ट्र बैंकलाई १२ बुँदे सुझाव समेत दिएको महासचिव संजय बजिमयले बताए ।

    कर्जा लगानी गर्दा जुन सम्झौतामा ब्याजदरको सहमति भएको हो सोहीअनुसार निर्धारण गर्नुपर्ने, बैंकलाई तिर्न बाँकी रहेको ब्याज र किस्ता रकमलाई स्याज नलाग्ने गरी किस्ताबन्दीमा तिर्न लगाउनुपर्ने, बैंकलाई तिर्नुपर्ने किस्तालाई समय बढाएर थोरै रकमको किस्ता बनाउने १५ वर्ष भए २० वर्ष र २० भए २५ वर्षको किस्ता बनाएर थोरै थोरै रकम असुल गर्दै जाने र बैंकले

    ऋणीसँग लिनुपर्ने पुरानो बाँकी वक्यौता रकमको पनि किस्ताबन्दी अनुसार असुल उपर गर्दै जान सञ्जालको सुझाव छ ।
    त्यस्तै मुद्दती निक्षेपको ब्याजदर बढीमा ६ प्रतिशत र अन्य ब्याजदर ४ प्रतिशत बनाउँदै लैजानुपर्ने, सानो सानो कर्जा लगानी गर्दै जानुपर्ने, धितो लिलामी गरेर असुल उपर गर्नुभन्दा सरल र सहज तरिकाले नगदमै असुल गर्ने योजना ल्याउनुपर्ने र बैंकमा भएको रकमलाई विभिन्न माध्यमबाट बजारमा पुर्याएर उद्योग, व्यापार लगायत क्षेत्रमा लगानी र बजार चलायमान गराउने योजना ल्याउन सञ्जालले सुझाव दिएको छ ।

    त्यसै गरी उद्योग, व्यापार, कृषि, पर्यटन लगायत उत्पादन क्षेत्रमा सस्तो दरमा कर्जा प्रवाह गर्नुपर्ने, अनुत्पादक क्षेत्रमा लगानी कम गर्दे जानुपर्ने, लगानीकर्ताबाट लिएको ब्याजबाट नै निक्षेपकर्तालाई ब्याज दिनुपर्ने भएकाले दुवै पक्षलाई सन्तुष्ट राख्नुपर्ने र कर्जा लगानीको ब्याजदर सिंगल डिजिटमा झानुपर्ने सञ्जालको सुझाव छ ।

    सबै क्षेत्रलाई सहज र सरल तरिकाले सबै सुरक्षित हुने गरी यथाशिघ्र नयाँ नीति ल्याएर विद्यमान अवस्थालाई सम्बोधन गर्नुपर्ने अध्यक्ष ज्ञवालीले माग गरे ।