रुपन्देही, १३ फागुन ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भएको दावी गरेका छन् । पौडेलले अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्वपूर्ण कामहरू समेत रोकिएको दावी गरे ।
आइतबार रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामकाविरूद्ध पार्टीले सदन र सडकबाट खबरदारीको विकल्प नभएको समेत स्पष्ट पारे ।
‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएका छन्’ पौडेलले भने, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खबरदारी गर्छ ।’
यस क्षेत्रमा चालू अवस्थामा रहेका विकासका आयोजनाहरुको बजेट सरकारले काट्दा धेरै योजनाहरु अलपत्र परेको पौडेलले बताए । सुरु भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आयोजनाको बजेट काटिएको छ । अब खबरदारी गर्नुपर्ने अवस्था आयो ।’
रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले रुपन्देहीमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने बताए । ‘रूपन्देहीमा विकासका काम करिब करिब सकिएका जस्तो लाग्छ’ पौडेलले भने, ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खवरदारी गर्नु छ । बुटवल–चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरु सम्पन्न हुने चरणमा छन । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रित हुन्छ ।’
रुपन्देही पूर्वाधार विकासँगै शिक्षाको हब बनेको समेत बताए । केही समय अघिसम्म ओझेलमा परेका यहाँ सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ। ‘यहाँको कालिका, कान्ति, शान्ति, नवीन, सैनामैनाका विद्यालय केही समयसम्म ओझेलमा थिए’ पौडेलले भने, ‘अहिले यी विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथो सम्म पुगे । यहीँ ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको छ ।’ यस क्षेत्रका विकासमा तीनै तहका जनप्रतिनिधिहरु मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ ।