
आइतवार , फाल्गुण १३, २०८०
भैरहवा, १३ फागुन ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ रुपन्देहीले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । २०६३ साल फागुन १२ गते स्थापना भएको संस्थाको स्थापना दिवस मनाइएको समाजका सह–सचिव तथा कार्यक्रम संयोजक श्यामु यादवले बताए ।
स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री रामजानकी हनुमान मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले यो संस्थाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको आफूले पाएको बताए । उनले भने, ‘वास्तवमा सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र न्यायिक क्षेत्र पनि हो । हामी न्याय पाउन प्रहरी कार्यालय, अदालत, पालिका जान्छौं । यो संस्था पनि न्याय निरुपण गर्ने संस्था हो ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेको भट्टले समाजमा विभिन्न किसिमका मतभिन्नताहरु, वैचारिक द्वन्द्वहरु, सामान्य भैझगडाका घटनाहरु तथा विकृति, विसंगति र असमझदारीलाई हटाइ एक थलोमा बसेर कमीकमजोरी खोज्ने र समझदारी तथा मेलमिलापको माध्यमले दुवै पक्षको चित्त बुझ्ने गरी समाधान खोज्ने कार्य भएको बताए । उनले बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्रले समाजमा रहेका विकृति, विसंगति, अपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्न प्रहरी र समुदायबीच पुलको काम गरेको उल्लेख गरे । उनले सामुदायिक केन्द्रले सकारात्मक सोच र संस्कारको विकास गरेको आफूले पाएको बताए । प्रहरी र समुदायबीच राम्रो समन्वय र सहकार्य हुनुपर्ने तथा समुदायको सूचनाले प्रहरीलाई अझ सक्रिय बनाउने उनको भनाइ छ ।
त्यस्तै बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ का अध्यक्ष श्रीचन्द जयसवालले सबैको साथ, सहयोग, सल्लाह–सल्लाहले संस्था यहाँसम्म आइपुगेको बताए । उनले आगामी दिनमा पनि सबैको साथ, सहयोग तथा सल्लाह–सल्लाहको अपेक्षा राखेको बताए ।
समाजका कानूनी सल्लाहकार तथा पूर्वअध्यक्ष अधिवक्ता दिलिप कुमार मल्लिकले भने, जुन उद्देश्यका साथ यो संस्था स्थापना भएको थियो, सोही अनुसार अघि बढेको छ । उनले सही र सही र गलतलाई गलत भन्नुपर्ने धारणा राखे ।
समाजका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिका–१० का निवर्तमान वडाअध्यक्ष विजयनाथ धवलले समाजमा रहेको विकृति तथा विसंगतिलाई नियन्त्रण गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको बताए ।
समाजका निवर्तमान अध्यक्ष तथा श्री रामजानकी हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले सबैको सहयोग बिना संस्था अगाडि बढ्न नसक्ने बताए ।
समाजका सल्लाहकार कुल प्रसाद न्यौपानेले समाजमा रहेका विकृति न्यूनीकरणका लागि संस्थाले काम गर्दै आइरहेको बताए ।
सिद्धार्थ सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी सेवा) सिद्धार्थनगर नगरपालिका ५, १२ र १३ का सचिव हरिराज विष्टले बुद्ध सामुदायिक सेवा समाजले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिका–४ का कार्यबाहक वडाअध्यक्ष हरि बहादुर के.सी.ले यो सामुदायिक सेवा केन्द्रलाई वडा कार्यालयकोतर्फबाट आवश्यक सहयोग गर्ने बताए ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ का अध्यक्ष श्रीचन्द जयसवालको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टको प्रमुख आतिथ्यता, समाजको उपाध्यक्ष शुभद्रा पौडेलको स्वागत तथा सचिव केदार प्रसाद कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij