२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘समृद्ध नेपाल : सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो : ओली

शुक्रवार , फाल्गुण ४, २०८०

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । 

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताएका छन् ।

नेपालले गरिवी बिरुद्धको लडाईमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए ।

उनले नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताए । ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभुत बनाएर लैजानुपर्ने आवश्यकता पनि औल्याए । 

उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ ।

 हामी प्रतिवद्ध छौं–समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिवी विरुद्धको लडाईमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्पारिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताए ।