
बिहिवार , फाल्गुण ३, २०८०
रुपन्देही, ३ फागुन ।
विशेषज्ञ सेवालाई विस्तार गर्दै गएको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबारदेखि क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालमा बिहीबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनी) मा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए ।
यो सेवाको शुभारम्भसँगै अब मुटुरोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने उल्लेख गरे । सरकारीस्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा. थापाले उल्लेख गरे । स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गरे ।
अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाका एनजीओग्राम गरिएको थियो । अस्पतालमा मुटुरोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीले बताए ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि २२ करोड बिनियोजन गरेसँगै यो सेवा सुरु भएको छ । कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पूर्ण उपचार गर्न सकिने बताए । अस्पतालका अनुसार क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरी ८ जनाको समूहबाट सेवा प्रदान गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij