२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

रेडक्रस सोसाईटी बुटवल उपशाखाको १५ औं साधारणसभा सम्पन्न

शनिवार , माघ २४, २०७७

बुटवल, २४ माघ । 
स्थापना कालदेखि नै मानवीय सेवामा समर्पित संस्था भनेर चिनिने नेपाल रेडक्रस सोसाईटी बुटवल उपशाखाको १५ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मानवीय मूल्य र मान्यतालाई आत्मसात गर्दै आफु भन्दा कमजोर मानिसलाई सेवा पुर्याउने रेडक्रसको मुल उद्देश्य रहेकोले आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्ने बताएका थिए ।

उपशाखा अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उद्योगी एवं व्यवसायीहरु चुन्नप्रसाद पौडेल र कमल मालपानीले साधारणसभाको उद्घाटन गर्दै मानवीय सेवाको भावनाबाट संचालित रेडक्रसलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । संस्थाको भौतिक पूर्वाधार विकास र प्राविधिक उपकरण लगायतका विषयमा सहयोग गर्न सबैलाई आग्रह गर्दै आफुहरुको तर्फबाट पनि यथासक्य सहयोग उपलब्ध हुने उनीहरुले बताएका थिए । 

कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखा रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास, बुटवल नगरपालिकाका पुर्व मेयर पुनाराम पोखरेल, पुर्व उपमेयर विमल बहादुर शाक्य, विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर श्रेष्ठ, एम.बी. बिश्वकर्मा, चन्द्रकान्त खनाल, सुजिता शेरचन, हेमानन्द शर्मा, उपशाखाका सचिव लोकनाथ पाण्डे, कोषाध्यक्ष डिलबहादुर थापा लगायतले रेडक्रसको महत्व र आवश्यकताको बारेमा चर्चा गरेका थिए । 

सो अवसरमा उपशाखाको भौतिक पुर्वाधार निर्माणमा सहयोग पुर्याएका महानुभावहरुलाई सम्मान गरिएको थियो । साथै उपशाखाद्धारा प्रकाशित रेडक्रस आलोक नामक बुलेटिनको विमोचन गरिएको थियो ।