
आइतवार , पौष १, २०८०
बुटवल, १ पुस ।
बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजमा अन्तर सेक्सन हाजिरीजवाफ (क्वीज) र हिज्जे (स्पेल बी) प्रतियोगिता सम्पन्न भएका छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै समसामयिक विषयको वाह्य ज्ञान प्रष्फुटन गराउने उद्देश्यले विद्यार्थीहरुको क्लब मणिमुकुन्द एपाइरी साइन्स सोसाइटीले हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
१५ समूहले भाग लिएको प्रतियोगिताको फाइनलमा ४ टीम पुगेका थिए । जसमा प्रतिक शर्मा, सक्षम न्यौपाने र ज्योति रिजालको समूह प्रथम, अनिल अर्याल, प्रतिक खत्री र गरिमा रेग्मीको समूह दोस्रो र अविनाश यादव, गणेश गिरी र अनुपा ज्ञवालीको समूह तेस्रो भएका छन् ।
त्यस्तै कलेजकै अर्को क्लब एमएससीसीले आयोजना गरेको हिज्जे प्रतियोगितामा करुणा पन्थी र सुदिप रम्तेलको समूह प्रथम, सुप्रिम ज्ञवाली र कृपा पाण्डेको समूह दोस्रो र विश्वराज भण्डारी र सोहिल रानाको समूह तेस्रो भएका छन् ।
विजयी समूह र विद्यार्थीलाई विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले पुरस्कार वितरण गर्दै प्रतियोगितामा जित्नु मात्र ठूलो कुरा नभइ भाग लिनु र अवलोकन गर्नुले पनि विद्यार्थीको ज्ञान र नेतृत्व क्षमता वृद्धि हुने बताए ।
कार्यक्रममा भाइस प्रिन्सिपल दिवाकर खनाल, विज्ञान संयोजक लक्ष्मण गैरे, व्यवस्थापन संयोजक पशुपति चौधरी, क्वीज मास्टर बाबुराम गैरे लगायतले बोल्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि कलेजले विभिन्न विधाका प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । सो अवसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij