
शुक्रवार , मंसिर २९, २०८०
भैरहवा, २९ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा जारी प्रथम वडा कप क्रिकेट प्रतियोगितामा सेमीफाइनलको समीकरण पूरा भएको छ ।
शुक्रबार भएको खेलहरुमा उदयपुरले प्रभातपथलाई, गोलीगढले गोनहियालाई र मिश्रौलियाले तिनकुनेलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको सातौ टीम कठौतिया ‘बाइ’ पाउँदै स्वतः सेमीफाइनलमा प्रवेश गरेको छ ।
गोनहियामा रहेको रेडक्रसको खेलमैदानमा भएको पहिलो खेलमा उदयपुर ८ विकेटले विजयी भएको छ । टस हरेर ब्याटिङ गरेको प्रभातपथ टीमले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । उसका लागि संगम पाण्डेले सर्वाधिक ३७ रन बनाए । त्यस्तै विवेक श्रेष्ठले ९ रन र युवराज बरालले ६ रन बनाए । बलिङतर्फ उदयपुरको सुनिल जयसवालले ३ विकेट लिए भने संजय कुर्मीले २ र दिपक यादवले १ विकेट लिए ।
प्रतिउत्तरमा ८० रनको लक्ष्य उदयपुरले सहजै भेट्टायो । पाँचौ ओभरमै लक्ष्य भेट्टाएको उदयपुरका लागि ओपनर ब्याटर रहमान अलिले अविजित ४५ रन बनाए । सो क्रममा उनले १८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै साहिद अलिले २१ रन बनाए । खेलमा ४५ रन बनाएका रहमान अलि मेन अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा गोलीगढले गोनहियालाई १० विकेटले हराएको थियो । टस जितेर गोनहियालाई ब्याटिङको निम्तो दिएको गोलीगढले उसलाई ४९ रनमै अलआउट पारेको थियो । गोनहियाका लागि बाबुरामले सर्वाधिक २२ रन बनाउदा अन्य ब्याटर भने चल्न सकेनन् । गोलिगढका बलर कृष्ण कार्कीले घातक बलिङ गर्दै २ ओभरमा ४ विकेट र आशिष सहानीले ३ विकेट लिए ।
५० रनको झिनो लक्ष्य गोलीगढले चौथो ओभरमा कुनै विकेटको क्षति बिना भेट्टायो । उसका लागि ओपनर ब्याटरद्वय युवराजले २३ रन र आरीफले १५ रनको अविजित पारी खेले । यो खेलमा गोलीगढका बलर कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए ।
शुक्रबार नै सम्पन्न तेस्रो खेलमा मिश्रोलियाले तिनकुनेलाई ६ विकेटले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ । टर हारेर ब्याटिङ गरेको तिनकुनेले अलआउट हुँदै ५८ रन बनाएको थियो । उसका लागि अमित यादवले १७ रन र समीर गुरुङ्गले १० रन बनाए । बलिङतर्फ मिश्रौलियाका प्रमोद कुर्मीले ४ विकेट, सुरज कुमीले ३ विकेट र लवकुशले २ विकेट लिए ।
५९ रनको लक्ष्यसहित मैदान पसेको मिश्रौलिया ४ विकेट गुमाउँदै लक्ष्य पाएको थियो । उसका लागि शिवशंकरले बिष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३ छक्का र २ चौकाको मद्दतमा अविजित २७ रन बनाए । त्यस्तै अरुन कुर्मीले १५ रन र अमृत कुर्मीले १४ रन बनाए । बलिङतर्फ तिनकुनेका अमित यादवले २ विकेट लिए । यो खेलमा मिश्रौलियाका प्रमोद कुर्मी म्यान अफ द म्याच घोषित भए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आयोजनामा जारी प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. १५ हजार, दोस्रोले रु. १० हजार र तेस्रो हुने टीमले ५ हजार प्राप्त गर्ने वडा सचिव अब्दुल रसिद पठानले बताए ।
शनिबार (भोली) को सेमीफाइनल खेल बिहान ८ बजेदेखि गोनहियामा रहेको रेडक्रस खेलमैदानमा हुने पठानले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij