२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

होराइजन गौतमबुद्ध स्कूलमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता

शुक्रवार , मंसिर २९, २०८०

रुपन्देही, २९ मंसिर ।
जिल्लाभरका विद्यालयहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ होराइजन गौतमबुद्ध स्कूलमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताले देशको समग्र शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो भुमिका रहेको बताए । उनले निजी क्षेत्रबाट उत्पादित जनशक्तिले देशका विभिन्न उच्च निकायमा नेतृत्वकारी भूमिका खेलिरहेको बताए ।  होराइजन गौतमबुद्ध स्कूलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्पूर्ण योगदान पुर्याएको बताउँदै मन्त्री गुप्ताले विद्यार्थीहरूका लागि हाजिरीजवाफ प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा यसको निरन्तरताको शुभकामना दिए । 

त्यस्तै प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताए । उनले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्नेमा जोड दिए ।

रुपन्देही जिल्ला अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्न मद्दत गर्ने बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरीले होराइजन गौतम बुद्ध मा.वि. को यस क्षेत्रको गर्व गर्न लायक नेतृत्वदायी संस्था रहेको बताए । 

होराइजन गौतमबुद्ध स्कूल सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताको प्रमुख आतिथ्यता। तिलोत्तमा नगरपालिका–१ का वडाअध्यक्ष फर्सुराम गिरी, न्यू होराइजन कलेजका क्याम्पस प्रमुख, प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायको विशिष्ट आतिथ्यता, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, शिक्षा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडे ,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्राध्यापक मोहन मरासिनीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको उद्देश्यमाथि संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले प्रकाश पारेका थिए । डा. नारायण प्रसाद पन्थको सञ्चालनमा भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिताको विभिन्न चरणका कार्यक्रम ऋषिराम पौडेल, मोहन मरासिनी, सरस्वती भट्टराई, गोपालप्रसाद आचार्य, पुस्कर रायमाझी लगायतले गरेका थिए ।

उद्घाटन कार्यक्रमअन्तर्गत हाजिरीजवाफको हिट राउण्डमा २९ वटा विद्यालयहरूले सहभागीता जनाएका थिए । जसअन्तर्गत ६ वटा विद्यालयहरू क्रमशः प्यारामाउण्ट बोर्डिङ् सेकेण्डरी स्कूल, तिलोत्तमा दीप बोर्डिङ् हाई स्कूल, बुटवल श्री शान्ति मोडेल सेकेण्डरी स्कूल, पश्चिमाञ्चल इङ्लिस स्कूल भैरहवा, ग्रिन प्लान्ट इ.बो.स्कूल र देवदह एभेष्ट बोर्डिङ् स्कूल फाइनल चरणमा प्रवेश गरेका थिए । 

हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिष्पर्धाबाट एभरेष्ट बोर्डिङ् स्कूलले प्रथम स्थान, दीप बोर्डिङ् स्कूलले द्वितीय स्थान शान्ति नमूना मा.वि.ले तृतीय स्थान तथा पश्चिमाञ्चल इङ्लिस स्कुल भैरहवा र ग्रिन प्लान्ट इ.बो स्कूल, देवदहले सान्त्वना स्थान हासिल गरेका थिए ।

जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु २० हजार, शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु.१५ हजार शिल्ड तथा प्रमाणपत्र र तृतीय हुने समूहलाई  रु. १० हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने दुवै समूहलाई रु. ३ हजार शिल्ड तथा प्रमाणपत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागीताको प्रमाण पत्रले प्रदान गरिएको थियो ।  

कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि होराइजन गौतम बुद्ध मा.वि.का उपप्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्यसम्पादन गरिएको प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिए ।