images

सोमवार, बैशाख १७ गते २०८१

मुस्ताङकी साहसी महिला सुकुन

मुस्ताङकी साहसी महिला सुकुन

images
images
images
बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • मुस्ताङकी साहसी महिला सुकुन

    मानिसको जन्म सुगममा होस या दुर्गममा, उसको परिचय उसको कर्मले दिन्छ । यदि सहि कर्म गर्‍यो भने समाजमा स्थापित हुन्छ, होइन भने त्यही समाजमा ओझेल पर्दै जान्छ । बलियो आत्मविश्वासका साथ काम गर्ने मान्छे कहिल्यै असफल हुँदैनन् । र, कुनै कुराले पनि उसलाई अगाडि बढ्न छेक्दैन् । हो, यस्तै बलियो आत्मविश्वासका साथ अगाडि बढेकी महिला उद्यमी हुन् हिमाली जिल्ला मुस्ताङ मार्फाकी सुकुन रसायली ।

    images

    सुकुनका लागि संघर्ष, मिहिनेत, दुःख सबै शब्द कुनै नौलो भएन। उनले आफ्नो जीवनकालमा सबैखाले संघर्ष गरिन । संघर्ष, मिहिनेत र दुःखले उनलाई अहिले सफल महिला उद्यमीको रुपमा अगाडि बढाएको छ । उनी सबैका लागि अहिले सफलताको कथा लेख्ने पात्र बनेकी छन् ।

    अरुका लागि सफलताको कथा लेख्ने पात्र बन्नका लागि सुकुनले लामो संघर्ष र दुःख झेल्नुपर्‍यो । वि.सं. २०३४ सालमा नेपालको हिमाली जिल्ला मुस्ताङको मार्फामा जन्मिएकी सुकुन परिवारको तेस्रो सन्तान हुन् । दलित परिवारमा जन्मिएकी सुकुनका लागि सफल बन्नका लागि ठुलै संघर्ष गर्नुपर्‍यो । जहाँ इच्छा, त्यहाँ उपाए भने जस्तै उनलाई पनि अगाडि बढ्का लागि थुप्रै बाटाहरु फेला परे ।

    सुकुन बाल्यकालदेखिनै निकै मिहिनेती र प्रतिभाशाली थिइन् । उनी विद्यालयजीवनमा स्काउटमा लिडर भएर विभिन्न कार्यक्रम गर्थिन । तीनै कार्यक्रमबाट विभिन्न खाले पुरस्कार पनि प्राप्त गर्ने गरेको उनी बताउँछिन् ।

    स्काउटले आफूलाई लिडर हुनु र अनुशासन रहेर अगाडि बढ्ने हिम्मत दिएको उनको भनाइछ । सुकुनको १४ वर्षको सानै उमेरमा आफ्नो इच्छाविपरीत विवाह भयो । ८ कक्षामा पढ्दैगर्दा विवाह भएपछि पढाइमा पूर्णविराम लाग्यो । विवाह भएको १ वर्षमा उनले छोरीलाई जन्म दिइन् । १५ वर्षको उमेरमा आमा बनेपछि उनले जीवनमा धेरै नै दुःख र संघर्ष गर्नुपर्‍यो । घरको भित्र र घर बाहिरको सबै काम उनले गर्नुपर्दथ्यो ।

    त्यति मात्र होइन एउटी आमा र बुहारीले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी उनले पुरा गर्नुपर्दथ्यो । २० बर्षको उमेरमा उनी संघर्षशील महिलाको रुपमा उदाउँदै थिइन् । मुस्ताङको थासाङमा धौलागिरी प्राविधिक शिक्षालय खुलेको थियो । त्यस शिक्षालयमा एक गैरसरकारी संस्थाको सहयोगमा ग्रामीण महिला अगुवाइ तालिम आएको थियो । विशेष गरेर विवाहित महिला खोजेको हुनाले गाउँलेहरुले उनको नाम सिफारिस गरे । गाउँलेको सिफारिसपछि उनी तालिम लिन सफल भइन् ।

    जीवनको पहिलो खुट्किलो तालिम
    ‘यो तालिम मेरो जीवनको लागि पहिलो खुट्किलो थियो । तालिम लिएर ९ वर्ष महिला स्वयंसेविका भएर सेवा गरे । त्यस बेला सिक्दै सिकाउँदै पूर्वका धेरै ठाउँमा घुम्ने र सेवा दिने अवसर पाए । काम गर्दै जाँदा एक दिन सफल भइन्छ होला भन्ने मनमा लागिरहन्थ्यो, ’उनले भनिन् ।‘त्यसैक्रममा स्वयंसेविका भएर काम गर्दा जिल्लामै उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका रुपमा पुरस्कृत पनि भए, त्यो क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो र उनले भनिन्,‘यो क्षण कुनै शब्दमा बयान गर्नै सक्दिन । ’

    जिल्लाकै उत्कृष्ट पुरस्कार प्राप्त भएपछि मलाई गैरसरकारी संस्थामार्फत थासाङमा काम गर्दै आएका विदेशी नागरिक जिल्भर र म्यारीले ६ महिने महिला प्रशिक्षण तालिम दिए । 
    ‘बालुवाटारमा तालिम लिए, तालिम लिँदा लागेको मेरो सम्पूर्ण खर्च ४÷५ लाख रुपैयाँ सबै जिल्भर र म्यारीले नै व्यहोरे, ’उनले भनिन् । ६ महिनाको तालिम अवधिभरी लगन र मिहिनेतले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरी उनी पुन जिल्ला फर्किन । त्यसको केही समयपछि उनले ओरेक नेपाल महिला पूर्नस्थापना केन्द्रमा काम गर्न सुरु गरिन । 
    चार वर्ष ग्रामीण क्षेत्रमा काम गरी महिला अधिकार, बाल अधिकार, बालविवाहका बारेमा प्रशिक्षण दिने गर्दथिन् । कहिलेकांही बालविवाहका विषयमा प्रशिक्षण दिदा उनी भावुक हुने गर्दथिइन । कारण थियो आफ्नो पनि सानै उमेरमा भएको बाल विवाह र त्यसका कारण पाएको दुःख । उनले आफूले भोगेको पीडा अरुलाई भोग्न नपरोस् भनी आफ्ना भोगाइपनि सुनाउँदै प्रशिक्षण दिने गरेको बताउँछिन् ।

    गैरसरकारी संस्थामा काम गर्दै गर्दा उनमा झन बढी निखारता र आत्माविश्वास बढ्दै गयो । उनले मनमनै सोच्न थालिन् हामी महिलाहरु कमजोर भएर सधै चुलोचौका, खेतीपाती गर्ने होइन भन्नेमा निरन्तर लागिरहिन् । उनमा सधैभरी घरपरिवार र श्रीमानको अगाडी हात थापेर मात्रै हँुदैन् आफूले पनि केही गर्नुपर्दछ भन्ने कुरा खेलिरहन्थ्यो । जसका कारण उनी सफल महिलाको रुपमा परिचय कमाउन थालिन । गैरसरकारी संस्थामा काम गरेर जम्मा गरेको पैसाले उनले होटल व्यवसाय सञ्चालन गर्ने निर्णय लिइन् । होटल सञ्चालन गर्ने निधो गर्नु अगाडि नै उनका श्रीमान् विदेश पुगिसकेका थिए ।

    होटेल खोलेपछिको चुनौति 
    गैरसरकारी संस्था लगायतबाट कमाएको पैसाले आफ्नै लगानीमा घरपझोङ गाउँपालिका–२ मार्फा मुस्ताङमा एकल लगानीमा उनले होटल सञ्चालन गरिन । 
    तीन जना छोराछोरीको जिम्मेवारीसहित होटल सुरु गरेकी सुकुनलाई होटल व्यवसाय चुनौति पुर्ण थियो । थकाली बस्तीको बाहुल्यता भएको ठाउँमा दलित समुदायबाट होटल सञ्चालन गरेकी उनलाई दलित भएकै कारण अर्को ठुलो चुनौतीको सामना गर्नुप¥यो । त्यो दलितको होटल हो त्यहाँ खान नजानु है भन्दै धेरैले आफ्नो व्यवसायलाई अवरोध गरेको उनले सुनाइन् । होटलमा आउने पाहुना भड्काउन त्यहाँका धेरै मानिसहरु निरन्तर लागेको उनले गुनासो गरिन् । ‘दलित समुदायलाई गरिने व्यवहारमा अहिलेसम्म पनि कुनै परिवर्तन आएको रहेनछ, ’उनले भनिन् ।

    ‘विवाह, पूजा व्रतबन्धमा भोज खुवाउँदा दुई प्रकारको भतेर लगाईन्छ, तर म कुनै दिनपनि हतोस्साहित भइन, अझै हिम्मत बढ्दै गयो । मैले काम सुरु गर्दै गर्दा मलाई आधा गार्गीको छचल्कीने पानीको संज्ञा दिन्थे । ती व्यक्तिहरुका लागि मैले अहिले गरेको संघर्ष नै झापड हो, ’उनले भनिन् ।

    उनीहरुले आफूई कमजोर बनाउन हानिएका प्रहारहरुले कुनै पनि असर नगरेको बरु कसरी बलियो भएर व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ लागेको रसायलीले बताइन् ।
    थकालि प्रथाको बाहुल्यता भएको त्यस ठाउँमा संविधान भन्दा माथि गएर मुखियाले चलाएको गाउँ जस्तै लाग्थ्यो । दलित महिला हिंसा अन्त्यको लागि थकाली समुदायमा होमिएकी उनी यति छिटै कहाँ हार मान्थिन र ?

    बाहिरबाट उनको होटलमा पुग्ने पर्यटकहरु भने निकै खसी हुन्थे । आफ्नै बारिको अर्गानिक तरकारी, दाल, फलफूल उनले आफ्ना पाहुनालाई खुवाउने गर्थिन । जसका कारण उनको होटलमा बिस्तारै भिड बड्दै गयो । त्यसबाट उनले राम्रोसंग आम्दानी गर्न थालिन ।

    श्रीमान् विदेशमा १२ घण्टा काम गर्दा उनले स्वदेशमा २४ सै घण्टा काम गर्ने गर्थिन ।  मेरो रातदिनको मिहिनेतले मेरो जीवनमा थप उर्जाहरु पलाउन थाल्यो, होटलसँगै घरभित्रै बसेर स्याउको सुकुटी बनाएर प्याकिङ गर्न थाले उनले भनिन्,‘त्यसपछि आफूमा थप उर्जा मिल्न थाल्यो ।’ उनले २०७० सालमा हिमाली प्रशोधन केन्द्र दर्ता गरेर व्यवसाय ठूलो बनाउने सोचमा अगाडी बढिन् । व्यवसाय दर्ता भएको एक महिनामा मुस्ताङ जिल्लामा हिमाली आयोजना अन्तर्गत अनुदान आएको थाहा पाइन । अनुदान पाए व्यवसायमा थप टेवा पुग्ने आशामा नमूनासहितको कागजपत्र कोटेशन तयार पारी योजना समेत पेश गरिन । उनको योजना पास भएन ।

    घरभित्र बसेर तयार पारिएका योजनाहरु पास भए, तर फिल्डमा डुलेर नमुना संकलन गरी तयार पारिएको सुकुन रसाइलीको नमूना किन पास भएन ? त्यसको कारण पत्ता लगाउन उनी आफै काठमाण्डौंस्थित हरिहरभवनमा रहेको हिमाली आयोजनाको कार्यालयमा पुगिन ।

    उनले त्यहाँ पुगेर टेबल टक गरेपछि केही समय हल्ला खल्ला भयो । त्यसपछि उनको फाइल खोज्न लगाइयो, खोज्दै जाँदा आयोजनाको नमूना फाइल अफिसको एउटा कुनामा फाल्न लगाएको रहेछ । दुर्गम क्षेत्र त्यो पनि दलित महिलाले यति ठूलो (४५ लाख) को योजना चलाउन सक्दैन भनेर कुनामा फालिएको अवस्थामा भेट्टाइन । फालिएको नमूना फाइल आयोजनाका अधिकृत दलराम प्रधानको सहयोगमा पुनः परिमार्जन गरी १५ लाख अनुदान पाउन उनी सफल भइन् । ‘सरकारले दिने अनुदान पाउनको लागि काठमाडौंका गल्लीगल्ली भोकभोकै हिंड्दाका ती दिन सम्झदा मेरो मन अहिले पनि भारी भएर आउँछ, ’उनले भनिन् ।

    मानिसमा इच्छाशक्ति हुनुपर्छ जतिसुकै ठूला चुनौति पनि सहजै पार लगाउन सकिन्छ, त्यसलाई कुनै जात र धर्मले रोक्न सक्दैन भन्ने एउटा ज्वलन्त उदाहरण उनी हुन् । एउटा सानो कोठा र निगालोमा सुकाएर राखेको स्याउको सुकुटी व्यवसाय अहिले करोडौको लगानी धान्ने भएको उनको भनाइ छ । देश विदेश पुगेर सुकुन रसाईली भनेर चिनाउँदा हिजो आफूले पाएको दुःख भूलाएको उनको भनाइ छ ।

    IMG_20231019_150747बबब.jpg

    व्यवसाय फस्टाउँदै गएपछि १४ वर्ष विदेश बसेका श्रीमान्लाई पनि घर बोलाएर सँगै व्यवसाय गर्दै आएका छन् । उनको उद्योगबाट उत्पादित वस्तु अहिले नेपालका विभिन्न शहरसहित विदेशी मुलुकहरुमा पनि पुगेको छ । उनी आफैपनि देशका विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवमा पुगेर हिमाली जिल्लाका परिकारहरु पस्कदै आएकी छन् । 
    उनी व्यवसायमा मात्र नभएर समाजसेवामा पनि उत्तिकै लागिपरेकी छन् । उनको जीवनको भोगाइ र संघर्षको कथा समेटेर ५ वटा भाषामा वृतचित्र समेत बन्ने भएको छ । उनी गण्डकी प्रदेशको उत्कृष्ट उद्यमी बन्दै ५१ हजार र अवार्डसहित सम्मानपत्रबाट सम्मानित भइन् । ‘म यहाँसम्म आइपुग्नका लागि मेरो परिवार र सासु आमाको ठूलो साथ र समर्थन छ, ’उनले भनिन् ।

    aadasf.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij