२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको छ : पुरञ्जन आचार्य

बिहिवार , आश्विन २, २०८२

  • 202
    Shares
  • 202
    Shares
  • काठमाडौं, २ असोज । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताउनुभएको छ ।

    न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताउनुभएको हो । भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँमा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग गरेर राज्य सत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको बताउनु भयो ।

    उहाँले नेपालको इतिहासमा आन्दोलनकारी सत्तामा जान लुछाचुँडी गरेको देखिएको भएपनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवबिहीन रहेकाले अनुभव भएका व्यक्तिहरुलाई सत्तामा राख्नु महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने भाष्यलाई चिरेर जेन जी पुस्ताले उदाहरण प्रश्तुत गरेको उहाँको ठम्याइ छ ।

    जेन जी पुस्ताले आफूहरु आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘यो आन्दोलन भविष्यउन्मुख छ । यो बिना स्वार्थ त्याग गरेको छ । किनभने जेन जीले आन्दोलन गरेर एकथरीलाई लगेर सत्तामा बसाइदिएको छ । आफू बसेको छैन । आफू जान्न भनेर घोषणा गरेको छ ।

    अहिलेसम्म आन्दोलनकारीहरु नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्म आन्दोलन गर्नेहरु हत्तपत्त सत्तामा जान र सत्तामा लुछाचुँडि गर्न नाम कहलिएका थिए, कुख्यात भएका थिए ।

    चाहे त्यो २००७ सालको क्रान्ति होस्, त्यसपछि आएको २०३६ सालको क्रान्ति होस् । २०४६, २०६२—२०६३ सालको । आन्दोलन केका लागि गरेको भन्दा झन्डै झन्डै एउटा मान्यता र मानक स्थापित भएको थियो की सत्तामा जान भन्ने । यो पहिलो आन्दोलन हो । जुन आन्दोलनकारी समूहले आन्दोलन गरेको हो हामी सत्तामा जाँदैनौँ भनिरहेको छ ।

    त्यसैले यहँँ त्याग पनि छ, निःस्वार्थपन पनि छ । यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ । त्यसलाई लिएर हामी जस्तो पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्छ । यो उमेरले आफूलाई आफ्नो क्षमतालाई,मुलुकलाई, मुलुकुको विद्यमान ऐन, कानूनलाई बुझे ।

    हामी आन्दोलन गर्नसक्छौँ, आन्दोलन गरेर सत्ता त परिवर्तन गरिदिनसक्छाँै तर सत्तामा गएर सरकार चलाउन सक्दैनौँ, हामीसँग अनुभव छैन अहिले भन्ने बुझे । त्यो उनीहरु आफैँले भनेका पनि छन् ।

    नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या पहिलाको पुस्ताले बुझेन अहिलेको पुस्ताले बुझ्यो । पहिलेको पुस्ताले हामी सबैकुरा जान्दछौँ भन्थ्यो ।’

    उहाँले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गर्नुभयो ।