भैरहवा, ४ मंसिर ।
नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन रुपन्देहीको बुटवलमा हुने भएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मंसिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।
बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औं राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगत बहादुर पोखरेलले बताए । सोहीअनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिविधिलाई तीव्रता दिएको उनको भनाइ छ । बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाइरेक्टर पोखरेलले बताए । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिंगो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएको उनले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘यो महाधिवेशनमा नेपाल जेसीजका १७८ वटा शाखाबाट करिब १ हजार ८ सय प्रतिनिधि बुटवलमा आउनेछन् । त्यसबाहेक पर्यवेक्षक तथा अतिथि समेत गरी ३ हजार बढीको सहभागीता रहनेछ ।’
महाधिवेशनमा तयारी तीव्र पारिएको र यसलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजीव गौतमले बताए ।
‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि कन्भेन्सन डाइरेक्टरको रूपमा पोखरेललाई चयन गरिएको हो । पोखरेल नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् ।
त्यस्तै रुपन्देहीका सामाजिक संघ–संस्थाहरू, दलका जिल्ला तहका नेताहरू र प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूसँग पनि भेटघाट तथा छलफलको कार्यक्रम जारी राखेको राष्ट्रिय महाधिवेशन सचिव मनोज भट्टराईले बताए । आवाससहितको रजिष्ट्रेशन मंसिर १५ गतेसम्म मात्र कायम रहने आयोजकले जनाएका छन् ।