मंगलवार, मंसिर १९ गते २०८०

हरित बन्दै सिद्धार्थनगर

हरित बन्दै सिद्धार्थनगर

images
images

सिता काफ्ले

४, मंसिर २०८०
  • 421
    SHARES
  • हरित बन्दै सिद्धार्थनगर

    २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा इश्तियाक अहमद खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित भए । निर्वाचित भएलगत्तै उनले निर्वाचनमा पाएको मत बराबरको वृक्षारोपण गर्ने उद्घोष गरे । सिद्धार्थनगर सुन्दर शहरको रुपमा विकास गर्ने योजनासहित सिद्धार्थनगरमा व्यापक रुपमा वृक्षारोपण गर्ने जनाएका थिए ।

    खानले निर्वाचनमा ९ हजार १ सय ३४ मत ल्याएका थिए । सिद्धार्थनगर नगरपालिकामा पदभार ग्रहण गर्ने क्रममा पनि नगरपालिकामा वृक्षारोपण गरेर पदभार ग्रहण गरेका थिए । त्यसपछि निरन्तर रुपमा वृक्षारोपण कार्यलाई अभियानको रुपमा सञ्चालन गरेका नगरप्रमुख खानले डेढ वर्षको अवधिमा आफूले वाचा र संकल्प गरे अनुरुप वृक्षारोपण गरेका छन् ।

    images
    images

    अहिले सिद्धार्थनगरका विभिन्न स्थान हराभरा र सुन्दर देखिन थालेको छ । बेलहियादेखि अञ्चलपुरसम्मको डिभाईडर र छेउछेउमा रोपिएका विरुवाले नगर नै सुन्दर र हरियाली देखिन थालेको छ । सडक छेउमा विभिन्न प्रजातिका फलफूलका विरुवा तथा अन्य प्रजातिका विरुवा रोपिएको छ । वर्षायामले उम्रिएको झार र फैलिएको रुखका हांगा पनि व्यवस्थित गरिदैछ ।

    हरित सिद्धार्थनगरले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खुसी बनाएको छ । सिद्धार्थनगरको मुख्य सडकहरुमा अहिले वृक्षारोपण गरिएको छ । नगरलाई सुन्दर र हरियाली शहरको रुपमा विकास गर्नका लागि वृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गरिएको नगरप्रमुख इश्तियाक अहमद खानले बताए । उनले यस अभियानले वातावरण संरक्षणमा समेत टेवा पु¥याएको बताए ।

    ‘भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि हो । प्रवेशद्वारलाई सुन्दर र हराभरा बनाउन सकियो भने पर्यटकमा पनि राम्रो सन्देश जाने तथा वातावरण पनि स्वच्छ रहने उद्देश्यले हामीले नगरका अधिकांश ठाउँमा विरुवा रोपेका छौं । उनले भने, ‘नगरपालिकाको कार्यालय आफै, अगुवाई र विभिन्न संघ–संस्थाको सहकार्यमा वृक्षारोपण गर्न सफल भएका छौं, जसको जस कर्मचारीहरुका साथै सम्पूर्ण नगरबासीलाई दिन चाहन्छु ।’

    उनले थपे, ‘वृक्षारोपण त गरियो तर वृक्षको संरक्षण गर्ने दायित्व नगरपालिकाको कार्यालयको साथसाथै हामी सबै नगरबासीको पनि हो । नगरपालिकाले वृक्षारोपण गरेको हामीले पानी किन हाल्ने भन्ने मनभाव नगरबासीमा भए यो नगर कहिल्यै हरित हुँदैन । त्यसैले नगर हामी सबैको हो र बनाउने हामी सबैले नै हो भन्ने सबै नगरबासीमा मनभाव भए यो नगर हरित हुन समय लाग्दैन ।’आफ्नो घर अगाडिको विरुवा बिहान साँझ मलजल गरेर विरुवाको संरक्षण गर्न नगरपालिकाको कार्यालयले सम्पूणै नगरबासीमा आग्रह समेत गरेको छ । यस क्षेत्रको बढ्दो तापक्रमलाई पनि मध्यनजर गर्दै वृक्षारोपण अभियान चलाइएको हो ।

    ‘बढ्दो तापक्रमबाट थोरै भए पनि केही राहत हुन्छ कि भनेर वृक्षारोपण अभियान चलाउनुको उद्देश्यमध्ये एउटा यो कारण पनि हो । नगरप्रमुख खानले भने, ‘वृक्षारोपण करले होइन रहरले गर्ने हो र यो हामी सबैको लागि प्रत्येक दृष्टिकोणले फाइदाजनक विषय हो ।’

    ‘विश्वमा वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ, त्यसैले वातारण संरक्षणको पहिलो आधार वृक्षारोपणलाई अभियानको रुपमा चलाएका हौं, ’उनले भने ।

    ‘नगरपालिकाले नगरलाई हरियाली र फूलको बगैचाको शहरको परिकल्पना गर्दै गत वर्षबाट हामीले नगरबासीलाई आँप, अनार, कागती, एबोगाडो र अन्य फूलका विरुवा गरी ५ हजार बढी विरुवा ७५ प्रतिशत अनुदानमा विक्रीवितरण गरेका थियौं । नगरप्रमुख खानले भने, यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं ।’

    नगरपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि आँप, लिची, एबोगाडो लगायतका ४ हजार ५ सय विरुवा नगरबासीलाई वितरण गरेको नगरप्रमुख खानले बताए । भैरहवामा बालबालिकाहरुको लागि बनाइएको खेलमैदानसहितको दरखसवा पार्कमा घुर्मि, गुलमोहर लगायतका ८ सय विरुवा लगाइएको नगरपालिकाले जनाएको छ । उक्त वृक्षारोपण पछि पार्कको सौदर्यकरणमा वृद्धि भएको छ ।

    नगरपालिकाले विभिन्न सस्थासँग पनि मिलेर वृक्षारोपण गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । रोपिएका विरुवाको संरक्षणका लागि नगरपालिकाले कर्मचारीको व्यवस्थापन समेत गरेको पौड्यालको भनाइ छ । उनका अनुसार विरुवाको स्याहारसुसार, मलजलको साथै सिंचाईका लागि नगरपालिकाले पानी हाल्नका लागि २ ओटा ट्यांकरसहित ४ जना विरुवा हुर्काउने कार्यका लागि खटाइएको छ ।

    नगरपालिकाले डेढ वर्षका अवधिमा १३ हजार बढी विरुवा रोपेको जनाएको छ । सडकका मुख्य स्थानसहित भित्री स्थानमा लगाइएका बोटविरुवाका कारण नगर सुन्दर हुनुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको एबिसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछानेले जानकारी दिए । उनले रोपिएका विरुवाका संरक्षणमा निरन्तर लागिरहन आग्रह गरे ।

    images
    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १६:१६:४७ बजे

    सिता काफ्ले

    सिता काफ्ले खबरपात्रो डटकमका संबाददाता हुन्।

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij