२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पर्यटकीय स्थललाई व्यवस्थित गर्दै ‘टुरिजम सर्किट’ निर्माण गर्छौं : मन्त्री पाण्डेय

आइतवार , मंसिर ३, २०८०

भैरहवा, ३ मंसिर । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्दै ‘टुरिजम सर्किट’ निर्माण गरिने बताएका छन् । उनले नेपाल पर्यटनको लागि प्रकृतिले बनाएको देश भएको बताए ।

श्री छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले श्री कालीभक्ति गण (ई) मा आइतबार आयोजना गरेको छठ पूजा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले युरोप, अमेरिका जस्ता देशमा आर्थिक सम्पन्नता भए पनि ती देशका व्यक्ति शान्तिको खोजीमा भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउने गरेको बताए । उनले जीवनमा कुनै पनि लक्ष्य प्राप्ती गर्नको लागि धर्मलाई साक्षी राखे सफलता पार्न सकिने बताए । मन्त्री पाण्डेयले भने, ‘छठ पर्वमा सूर्यको पुजा गछौं, जसले गर्दा उर्जा प्राप्त हुन्छ । जीवनयापनमा सहजता भएको छ । ’

उनले आम जनताको करबाट सरकारले जनताको लागि बजेट खर्च गर्ने भएकाले कुनै नेता/मन्त्रीले आफ्नो घरबाट पैसा दियो भनेर सोच्न नहुने बताए । उनले छठ पोखरीको सुन्दरीकरणका लागि पर्यटन मन्त्रालयको माध्यमले रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

Santosh Pandey.jpg

छठ पर्वको माध्यमले नेपालीहरुको जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने उनले विश्वास व्यक्त गरे । संघ सरकारले आइतबार छठ पर्वको दिन विदा दिए पनि लुम्बिनी प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु, नवलपरासी र बाँके गरी चारवटा जिल्लामा सोमबार पनि विदा दिएको बताए । उत्तरी क्षेत्रसँगै अब दक्षिणी क्षेत्रको पनि विकास आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले पछिल्लो समय छठ पर्व मान्नेको संख्या बढ्दै गएको बताए । 
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी प्रमुख शान्ति सुवेदीले छठ पर्वले सबै मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताए । 

श्री छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५ का संयोजक आनन्द प्रसाद गुप्ताले पोखरी सुन्दरीकरणका लागि नगरपालिका र वडा नम्बर ५ को कार्यालयले बजेट बिनियोजन गर्नु सराहनीय रहेको बताए । उनले छठ पूजा सफल पार्न श्री कालीभक्ति गणको महत्वपूर्ण योगदान रहेको बताए ।

सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।