
बुधवार , कार्तिक २२, २०८०
भैरहवा, २२ कार्तिक ।
रुपन्देही क्षेत्र नम्बर ५ को पूर्व-पश्चिम लोकमार्ग फायरलाइनदेखि दक्षिण रुद्रपुर हुँदै शिवगढी (लुम्बिनी) जोड्ने सडक मर्मतको सन्दर्भमा बुधबार प्रतिनिधिसभा सदस्य ((सांसद्) बासुदेव घिमिरेले सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर विसुनदास लामा, ईञ्जिनियर महेश्वर लम्साल, ईञ्जिनियर शरद आचार्यसँग छलफल गरेका छन् । साथैं उनले ईञ्जिनियरसँगै सो सडकको स्थलगत निरीक्षण समेत गरेका हुन् ।
सो क्रममा ईञ्जिनियर महेश्वर लम्सालले सडक मर्मतसम्भारको लागि गरिएको टेण्डर र कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए । यो सडक मर्मतको लागि संघीय सरकारबाट ६ करोड २ लाख विनियोजन भई टेण्डर आह्वान भएकोमा ठेकेदार छनौट भई कार्य-सम्झौताको क्रममा रहेको ईञ्जिनियर लम्सालले जानकारी दिए । यो सडक फायरलाइन चोकदेखि दक्षिण २० किलोमिटर मर्मतसम्भार हुनेछ । सुरुमा खाल्टाखुल्टी पुरेर मर्मत गरेपछि एक लेयर कालोपत्रे थपिने जानकारी ईञ्जिनियरहरुले दिएका छन् । यो सडक केन्द्रीय रणनीतिक सडकअन्र्तगत् परेकोले यसको नियमित मर्मतसम्भार र स्तरोन्नीको काम अब सडक विभागमार्फत् हुनेछ ।
सोही क्रममा लुम्बिनी-कक्रहवा-पडेरियाचोक-शिवगढी सडक मर्मतको सन्दर्भमा भइरहेको कामको सन्दर्भमा समेत ईञ्जिनियर लम्सालले जानकारी गराएका छन् । सो सडक साधारण मर्मतको लागि ५९ लाख बजेट विनियोजन भई टेण्डर भइसकेको छ ।
सो क्रममा सडक डिभिजन कार्यालय बुटवलबाट रुपन्देही क्षेत्र नम्बर ५ मा निर्माण हुने अन्य सडक, पुलहरुको बारेमा समेत कार्यालयका ईञ्जिनियरहरुले प्रतिनिधिसभा सदस्य घिमिरेलाई जानकारी गराएका थिए ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले फायरलाइन–लुम्बिनी सडकमा परेका खाडलका कारण दुर्घटनाको जोखिम रहेकोले तत्काल त्यसलाई पुरेर स्तरीय मर्मतसम्भार गर्न निर्देशन दिए । साथै यो सडकलाई स्तरोन्नति गरी डेडिगेट डबल लेन बनाउने कार्यको लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड समेत दिए । साथैं क्षेत्र नम्बर ५ मा सडक कार्यालयमार्फत् बन्ने अन्य सडक र पुलहरुको निर्माण कार्य तत्काल अघि बढाउन समेत उनले निर्देशन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij