२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने, राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

सोमवार , माघ १९, २०७७

काठमाडौं, १९ माघ । 
गत मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको गत शैक्षिक सत्र २०७६ अन्तर्गतको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । कोभिड–१९ को महामारीका कारण झण्डै ८ महिनापछि मात्र परीक्षा लिइएको कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि सबै तयारी पुरा भइसकेकोले आज १० बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । 

बोर्डका अनुसार नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि सोमबार बिहान १० बजे बोर्ड बैठक बोलाइएको जनाएको छ । कोरोना भाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।  यसअघि उत्तरपुस्तिका जाँच गर्ने शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा पुनः संपरीक्षण गर्दा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको थियो ।

यसअघि बोर्डले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्य अनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो । दोस्रो पटक पुस मसान्तसम्म परीक्षाफल प्रकाशित गर्ने लक्ष्य लिइएको थियो ।