
बिहिवार , कार्तिक १६, २०८०
बुटवल, १६ कार्तिक ।
रुपन्देहीको बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव समारोहमा २ सय शैयाको अस्पताल भवन, पुस्तकालय भवनको शिलान्यास, शैक्षिक कार्यक्रमको उद्घाटन र २५औं वर्ष प्रवेशको अवसरमा निर्मित स्तम्भको उद्घटन गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आम्दालाई अन्तरराष्ट्रियस्तरको स्वास्थ्य संस्थाका रुपमा परिचित गराउनका लागि भूमिका निर्वाह गर्ने बताए । उनले आम्दाले गैरनाफामूलक संस्थाका रुपमा बुटवलमा मात्रै नभइ पश्चिम क्षेत्रमै महिला र बालबालिकाको स्वास्थ्यमा पुर्याएको योगदानको चर्चा गर्दै अस्पतालको विकासमा आफुले सधै साथ दिने बताए ।
उनले अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्नेगरी योजना अगाडि बढाएकोमा बुटवल उपमहानगरपालिका, आम्दा इन्टरनेशनल र आम्दा नेपाललाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार अस्पताल भवनको शिलान्यास गरिएको बताए । उनले आम्दामा १ सय शैयामा थप २ सय शैया थप गरी ३ सय शैयामा पुर्याउँदै यस क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा विशिष्टीकृत अस्पतालको रुपमा स्थापित गर्ने बताए । उनले यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तरगत प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताए । उनले आम्दामा स्वास्थ्य र शिक्षा क्षेत्रमा एकसाथ दुईवटा काम भएको बताउँदै एउटाले स्वास्थ्य सेवामा सुधार ल्याउने र अर्कोले जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
२०५५ कार्तिक १६ (सन् १९९८ नोभेम्वर २) मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही बीच त्रिपक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालनमा रहेको छ।
आम्दा अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट मिति २०५५ असोज २१ गते च्यारिटी अस्पतालको रुपमा मान्यता पाएको थियो। अस्पतालबाट रूपन्देही जिल्ला लगायत १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालका अनुसार गत आ.व. २०७९/८० मा ७०,४८६ र पछिल्लो दशक (आ.व. २०७०/७१ देखि आ.व. २०७९/८०) मा ६ लाख २१ हजार ९ सय ४२ जना बिरामीले अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।
अस्पतालबाट आकस्मिक सेवा अन्तर्गत २४ सैं घण्टा बालरोग र स्त्री तथा प्रसुति आकस्मिक सेवा प्रदान भइरहेको छ भने बहिरङ्ग सेवा र अन्तरङ्ग सेवा अन्तर्गत बालरोग अन्तरङ्ग, बाल शल्यचिकित्सा, स्त्री तथा प्रसुति, मेडिकल, स्त्री तथा प्रसुति शल्य चिकित्सा, नवजात शिशु सघन उपचार कक्ष र आई.सि.यु. सेवा उपलब्ध छन् । त्यस्तै प्रयोगशाला सेवा, अल्ट्रासाउण्ड सेवा, ई.सी.जी.सेवा, एक्स–रे सेवा र इकोकार्डियोग्राफी सेवा समेत उपलब्ध रहेको उनले बताए । त्यस्तै अस्पतालमा विशेष ओ.पि.डी. सेवामार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन् ।
अस्पतालको सुविधालाई थप स्तरीय बनाउनका लागि आम्दा इन्टरनेशनलको सधै सहयोग रहने आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु सुगानामीले बताए । उनले आफुले आम्दा बुटवललाई अन्तरर्राष्ट्रिय स्तरको स्वास्थ्य संस्थाका रुपमा स्थापित गर्नका लिग साथ दिने बताए ।
आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दासले आम्दा इन्टरनेशनल, आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको पहलमा अस्पतालको स्तरवृद्धि र सुधार भइरहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याललगायतले बोल्दै आम्दाको विकासले यस क्षेत्रमा महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउने बताए ।
सोही अवसरमा आम्दा अस्पतालको स्थापनामा योगदान पुर्याउने तत्कालीन बुटवल नगरपालिकाका प्रमुख स्वर्गीय सूर्यप्रसाद प्रधानलाई मरणोपरान्त, आम्दा नेपालका संस्थापक अध्यक्ष प्रा.डा. रामेश्वर पोख्रेल, स्थानीय विकास समितिका सदस्य जीवनप्रसाद वझालगायतलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij