२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

बिहिवार , कार्तिक १६, २०८०

बुटवल, १६ कार्तिक । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रुपन्देहीको बुटवल आउने भएका छन् । बुटवलस्थित आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।

वि.सं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।

सोही अस्पतालको वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको र प्रधानमन्त्री प्रचण्डले वार्षिकोत्सव समारोह उद्घाटन गर्ने अस्पतालका अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए । मेयर पाण्डेयले १०० शय्याको अस्पतालको स्तरोन्नति गरी ३०० शय्याको अस्पताल बनाउने तयारी भएको बताए । समयको मागअनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी गराए ।

यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको मेयर पाण्डेयले बताए ।

उनका अनुसार ३ वटा विषयमा ४०/४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्नेछन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिनेछ ।

आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७९/०८० सम्म ६ लाख २१ हजार ९४२ जना बिरामीले अस्पतालबाट सेवा लिएको जनाइएको छ ।

बिहीबार बिहान ११ बजे बुटवलस्थित आम्दा अस्पतालमा हुन भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकउत्सव कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले छलफल गर्नुहुने पार्टीका बुटवल उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसालले बताए ।