२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

ठूलाखर्क सेवा समाजद्वारा जेष्ठ अभिभावकलाई सम्मान

मंगलवार , कार्तिक १४, २०८०

बुटवल, १४ कार्तिक ।
ठूलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई काठमाडौंमा सम्मान गरेको छ । समाजले आफ्नो अभियान अन्तर्गत जेष्ठ अभिभावकलाई काठमाडौंमा पुगेर सम्मान गरेको हो ।

८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई काठमाडौंमा एक कार्यक्रमकाबीच सम्मान गरिएको समाजका अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए । यसरी सम्मानित हुनेहरुमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ ठूलाखर्क घर भइ काठमाडौंमा बस्दै आएका हरिप्रसाद ज्ञवाली, टोपबहादुर घर्ती, डाँसुराम ज्ञवाली, थानेश्वरी ज्ञवाली (शारदा), भुवनेश्वर ज्ञवाली, लिलावती ज्ञवाली, इश्वरी ज्ञवाली, बाबुहरि ज्ञवाली, भोजकुमारी ज्ञवाली र खिमकुमारी ज्ञवाली रहेका छन् । ठूलाखर्कबाट बसाईसराई गरेर आएका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको ज्ञवालीले बताए ।

यसअघि समाजले गत फागुन २४ गते आफ्नो वार्षिकोत्सवको अवसर पारेर रुपन्देहीमा ११ जना जेष्ठ अभिभावकलाई रुपन्देहीमा सम्मान गरेको थियो । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ स्थित ठूलाखर्क स्थायी घर भइ विभिन्न पेशा व्यवसायको सिलसिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले समाज स्थापना गरेका हुन् । समाजले जेष्ठ नागरिक सम्मानसँगै वार्षिकोत्सव मनाएको थियो । त्यस लगत्तै समाजले अर्घाखाँचीको ठूलाखर्कमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

अध्यक्ष ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएकोले समाजले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए ।