
सोमवार , कार्तिक १३, २०८०
भैरहवा, १३ कार्तिक ।
विश्व पक्षघात दिवसको अवसरमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.को आयोजनामा पक्षघातसम्बन्धी जनचेतना तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एम.सी.एच. न्युरो सर्जन डा. नरेन्द्र प्रसाद बास्कोटाले पक्षघात सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भैरहवा मर्निङ्ग वाक ग्रुप, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही, नव टिकुलीगढ युथ क्लब तिलोत्तमा–१५ ईनरह्वील क्लब अफ लुम्बिनीको सहभागीता रहेको अस्पतालका बिजनेस एण्ड मार्केटिङ म्यानेजर पंकज कुमार पाण्डेले बताए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २१ युनिट रगत संकलन भएको सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
कार्यक्रममा जनउत्थान सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्याल, भैरहवा मर्निङ्ग वाक ग्रुपका संस्थापक अध्यक्ष विजय गोबिन्द श्र्रेष्ठ, कार्यवाहक अध्यक्ष बाबुराम केसीलगायतले बोल्दै यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताए ।
सिद्धार्थनगर सिटी हस्पिटलका अपरेशन इञ्चार्ज रिता घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विश्वमा प्रत्येक वर्ष अक्टोबर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ ।
के हो पक्षघात ?
पक्षघात मुटुको रोगपछिको विकराल सामाजिक र स्वास्थ्य सम्बन्धी समस्या हो । यसले बिरामी लाई त सिथिल पार्नुका साथै घरका अन्य युवा जनशक्तिलाई नै आफ्नो कार्य क्षेत्रबाट विमुख गरि आर्थिक असर समेत पार्ने डा. बास्कोटाले बताए ।
‘पक्षघातका कारणहरु विभिन्न हुने हुँदा यसका लक्षण, उपचारको पद्दति र लाग्ने समय फरक फरक हुने गर्दछ । यसका प्रमख कारणहरुमध्ये रगतका नशा बन्द भएर वा फुटेर, जन्मजात कुनै नशा कमजोर भएर हुन सक्छ, ’उनले भने ।
त्यसै गरी लक्षणहरु पनि दिमागका जुन भागमा नशा बन्द हुन्छ त्यही भागको काम बिथोलिन्छ र यसैलाई त्यो अंगको पक्षघात भनिन्छ । डा. बास्कोटाका अनुसार रगत फुटेर बग्दा पनि जुन नशामा रगत पुग्न वन्चित भयो त्यसले पनि काम नगर्ने र बगेको रगतले थिचेर तथा प्रतिक्रिया देखाएर अन्य दिमागको भागलाई समेत असर गर्दछ र विभिन्न किसिमको पक्षघात देखिन्छ । ‘कुनैमा आँखाको दृष्टिको केही भाग कमजोर, मुख बाँगिन्ने, आधाहर नचल्ने, जिब्रो लरबराउने, बोलेको नबुझिने, सन्तुलन बिग्रिने, स्मरण शक्तिको ह्रास हुने गर्दछ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij