२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

पोहवा मण्ठधारी बाबा सामुदायिक वनको साधारणसभा

आइतवार , कार्तिक १२, २०८०

भैरहवा, १२ कार्तिक ।
पोहवा मण्ठधारी बाबा सामुदायिक वन गैडहवा वडा नम्बर ३, ४ र ५ को  वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको उदघाटन गर्दै गैडहवा गाउँपालिका रुपन्देहीकी उपाध्यक्ष माधुरी जैसवालले सामुदायिक वनको संरक्षणमा उपभोक्ताहरुले देखाएको सक्रियताप्रति धन्यवाद दिइन् । उनले आफू यहीकै जनताले जिताएर पठाएको जनप्रतिनिधि भएकाले सामुदायिक वनको संरक्षणका क्रममा देखा पर्ने समस्या समाधान र स्थानीयका मुद्दाहरुमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

लुम्बिनी सव डिभिजन वन कार्यालय ठकुरापुर रुपन्देहीका निमित्त कार्यालय प्रमुख मुकेश कुमार गुप्ताले उपभोक्ता आफैले संरक्षण गर्न सकुन भन्ने उद्देश्यले सामुदायिक वनको अवधारणा आएको स्पष्ट पार्दै वन संरक्षण र आर्थिक पारदर्शीतामा मुख्य जोड दिएर अगाडि बढ्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई आग्रह गरे ।

त्यस अवसरमा संस्थाका अध्यक्ष रामनारायण चौधरीले वार्षिक कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदनका साथै २०८०/८१ को कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ताको हित अनुरुप नै सामुदायिक वनले आफ्नो कार्ययोजनालाई अगाडि बढाएको दावी गरे ।

राष्ट्रिय संरक्षण तथा विकास केन्द्रकी कार्यक्रम अधिकृत शालिनी खरेलले उपभोक्ता र सामुदायिक वन एक–अर्काका परिपुरक रहेको भन्दै वनको संरक्षणले मात्रै प्रकृतिको पनि संरक्षण हुने र मानव जीवनको रक्षा हुने बताइन् ।

त्यसअवसरमा लोण्डिहवा सशस्त्र बेस क्याम्पका प्रमुख तेजबहादुर थापा, सामुदायिक वनका रामहर्ख बरई, धर्मेन्द्र पासवान लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।