२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

बुटवलको जितगढीमा सरायँ नाच

शनिवार , कार्तिक ११, २०८०

रुपन्देही, ११ कार्तिक ।
जितगढी सरायँ नाच व्यवस्थापन समितिको आयोजनामा सरायँ नाच सम्पन्न भएको छ । शत्रुलाई पराजित गरेपछि विजयउत्सवको रुपमा परापुर्वकालदेखि गुल्मी, अर्घाखाँची र पाल्पामा प्युठान बाग्लुङ वडादशैंको एकादशीदेखि पूर्णिमासम्म देवीका मन्दिर शक्ति पीठमा तथा विभिन्न कोट दुर्गा मन्दिरहरुमा खेलिने सरायँ नाच बसाइसराईसँगै तराईका रुपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लामा पनि सरेको छ । गुल्मी, अर्घाखाँची र पाल्पामा सदियौंदेखि दशैंमा नाचिने सरायँ नाच निकै उत्कृष्ट नाच मानिन्छ ।

संस्कृति, सभ्यता जोगाइराख्न गरिएका प्रयासले परम्परा संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने/पुर्याउने संस्कृतिका जानकार राजेन्द्र आचार्यले बताए । 

ऐतिहासिक स्थान जितगढीमा नचाइएको सरायँ नाचमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल लगायत विभिन्न प्रशासनिक निकाय, सामाजिक र राजनीतिक व्यक्तित्वहरुको सहभागीता मात्रै नभइ सर्वसाधारणसँगै घण्टौसम्म सरायँ नाचेपछि थप हौसलासँगै उल्लासमय वातावरण बनेको जितगढी सरायँ नाच व्यवस्थापन समिति अध्यक्ष खिमबहादुर थापाले बताए । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरायँ नाच साँच्चिकै दशैको मूल विषय भएकाले महत्वपूर्ण संस्कारलाई बसाईसराईसँगै आफ्नो संस्कृति जोगाउन लागेकोमा आफू हर्षित भएको बताए ।  

हिन्दूहरुको महान पर्व वडादशैं अन्तर्गत विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सराय नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिरसहितका मन्दिरबाट नाच्न सुरुवात भएको संस्कृतिविद् बताउँछन् । तरबार खुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने चलनअनुसार नै सरायँ नाच नचाएको जितगढी सरायँ नाच व्यवस्थापन समिति उपाध्यक्ष जीवलाल पन्थीले बताए ।

तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको जितगढी सरायँ नाच व्यवस्थापन समिति सल्लाकार दिपक पन्थीले बताए । देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुशीयालीमा नाच्न थालिएको अग्रजहरुको भनाइ छ । 

सरायँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । गुल्मी, अर्घाखाँची, पाल्पाबाट अत्याधिक मात्रामा बसाइ सरी रुपन्देहीमा आएका भएकाले आफ्नो परम्परा संस्कृति संरक्षण गर्न जरुरी रहेको सरायँ नाच व्यवस्थापन समितिका सचिव पिताम्बर भण्डारीले बताए । यस नाचलाई जस्ताको त्यस्तै युवा पुस्तामा सार्न सके मात्रै यसको संरक्षण हुने दुर्गा मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष बालकुमारी सुवेदीले बताइन् । 

संस्कृति परम्पराको जर्गेना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिन्छ । यसप्रकारको सरायँ नाच बुटवलमा हेर्न पाएपछि आफुहरु जन्मथलोमै भएको महसुस भएको सराय नाच हेर्न गएकाहरुले बताए । सरायँ नाच नाच्न हेर्न सयौ श्रद्धालु भक्तजनहरु जितगढीमा रहेको दुर्गा मन्दिरमा पुगेका थिए ।

380159699_989871442107482_4919632971776535940_n.jpg