२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा बेपत्ता युवाको शव फेला

बिहिवार , कार्तिक ९, २०८०

भैरहवा, ९ कार्तिक ।
विजयादशमीको दिन रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जनको क्रममा नदीमा डुबेर बेपत्ता युवाको शव बिहीबार फेला परेको छ । मंगलबार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानामा रहेको दुईमुहान (नदी) मा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार फेला परेको थियो ।

खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीम परिचालन गरिएको थियो । त्यस्तै खोजतलासमा स्थानीयबासीसँगै नेपाली सेना र नेपाल प्रहरीको टोली पनि लागेको थियो ।

apf .jpg

सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको बताए । ‘सबैतिरबाट खोजी भएको थियो, बिहीबार सवा १२ बजे घटनास्थलको केही तल तैरिएको अवस्था भेटियो’, डीएसपी पाण्डेयले भने ।

उक्त स्थान तिनाउ र दानव नदीको संगमस्थल हो । विगतका वर्षमा पनि मूर्ति बिसर्जन गर्ने क्रममा उक्त स्थानमा यस्ता घटनाहरु भएको कोटहीमाई गाउँपालिका-१ का वडाअध्यक्ष राजेश गुप्ताले बताए ।