
बुधवार , कार्तिक ८, २०८०
भैरहवा, ८ कार्तिक ।
रुपन्देहीको मर्चवारमा मंगलबार (हिजो) दुर्गा मूर्ति बिसर्जनको क्रममा डुबेर बेपत्ता भएका स्थानीय युवाको खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीम परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास भइरहेको बताए । डीएसपी पाण्डेयले बुधबार बिहान ८ देखि बेपत्ता युवाको खोजतलास सुरु गरिएको जानकारी दिए । हालसम्म वेपत्ता भएका युवा फेला पर्न नसकेको उनले बताए ।
दुर्गा मूर्ति बिसर्जनका क्रममा मंगलबार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानामा रहेको दुईमुहान (नदी) मा डुबेर कोटहीमाई–१ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यू भएको थियो । उनीहरुको शव मंगलबार फेला परेको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटना घटनासाथ जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए । उनले टोलीले सम्बन्धित सम्भावित ठाउँहरुमा खोजतलास गर्दा मंगलबार नै दुईवटा शव फेला परेको बताए । उनले भने, ‘एउटा व्यक्ति अहिलेसम्म हराइरहनुभएको छ । हराइरहेको व्यक्तिको खोजतलासको लागि सशस्त्र प्रहरी बल कुरिनटार गोताखोरको टोली ल्याइएको छ । ’
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रायजसो यो नदीमा मूर्ति बिसर्जनका क्रममा अप्रिय घटना घट्नु दुःखद भएको बताए । उनले भने, ‘उद्दार कार्यमा तत्परताका साथ प्रहरी–प्रशासनले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।’
हिजो भएको घटना लगत्तै विभिन्न माध्यमबाट बेपत्ता स्थानीय युवाको खोजतलास भइरहेको कोटहीमाई–१ का वडाध्यक्ष राजेश गुप्ताले बताए । ‘काटा, बल्छीलगायतका सामग्री प्रयोग गरी हिजो २ जनाको शव निकालियो, हिजोदेखि स्थानीयबासीसहित प्रहरीको टोली सक्रिय रूपमा खोजतलासमा खटेको छ ’ उनले भने ।
उक्त स्थान तिनाउ र दानव नदीको संगमस्थल हो । विगतका वर्षमा पनि मूर्ति बिसर्जन गर्ने क्रममा उक्त स्थानमा यस्ता घटनाहरु हुने गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij