२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

बुधबार पनि दशैंको टीका–जमरा लगाइँदै

बुधवार , कार्तिक ८, २०८०

काठमाडौं, ८ कार्तिक ।
दशैंको टीका र जमरा लगाउने क्रम बुधबार (आज) एकादशीका दिन पनि जारी छ । हिजो (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । हिजो दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको थियो ।

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

दुर्गापक्षको मुख्य दिन हिजो मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक ९ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजाआराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी बिसर्जन गरिएको थियो । कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा विजयादशमीका दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिने गरिन्छ ।