
शनिवार , कार्तिक ४, २०८०
सुर्खेत, ४ कार्तिक ।
वडादशैं प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ । वडादशैंलाई नेपालीले विशेष महत्व दिएर मनाउँछन् । परदेशिएका आफन्तहरू पनि दशैंको मौका पारेर घर फर्किने गर्दछन् । दशैंमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्वपूर्ण मानिन्छ । रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन् । रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो । पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ ।
आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन् । गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन् । उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ ।’ आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ ।
पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ ।
गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन् । अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रंग प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए ।
सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ । अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ ।
बजारमा पनि ठूलाठूला पक्की घर छन् । गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो । भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij