
शनिवार , कार्तिक ४, २०८०
बुटवल, ४ कार्तिक ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको रुपन्देहीको बुटवललाई पुर्णरुपले चलायमान बनाउन यातायात क्षेत्रको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले आयोजना गरेको बधाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले बुटवलको सामरिक महत्वलाई समेत मध्यनजर गरेर बजार गुल्जार बनाउन एकीकृत योजना आवश्यक रहेको बताए ।
सहभागीहरुले बुटवल आसपासमा रहेका पर्यटकीय स्थलहरुलाई जोड्ने गरी यहाँका व्यवसायिक संस्थाहरु समन्वय र सहकार्यका योजना बनाउनुपर्ने सुझाव दिए । नेपालको पर्यटन क्षेत्रको विकासमा यातायात क्षेत्रबाट योगदान दिदै आएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले आफ्नो सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा समेत सहभागी वक्ताहरुले जोड थिए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेपालकै सर्वाङ्गिण विकासमा यातायात व्यवसायीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै यातायात वयवसाय विकासको पर्यायवाची भएको दावी गरे । बुटवलको विकाससँग संघ–संस्थाहरुको योगदानबारे प्रकाश पार्दै फेरी पनि एकीकृत विकासको योजनासहित अघि बढ्न जरुरी रहेको मेयर पाण्डेले बताए । बुटवलको बसपार्कलाई नमूना बसपार्क बनाउने लक्ष्यसहित बहुतले पार्किङ्ग, कोसेली घर, क्यान्टिन निर्माण, शौचालयको व्यवस्था लगायत निर्माणमा उपमहानगरपालिका अघि बढेको उनले जानकारी दिए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण यातायात व्यवसायीहरु चरम पीडामा रहेको भन्दै आम उपभोक्ताको हितलाई मध्येनजर गरी यथासक्य गुणस्तरीय सेवा दिदै आएको बताए । चाडपर्वको अवसरमा काठमाडौं जाने प्रत्येक यातायात व्यवसायीलाई १० हजार रुपैयाँ दिएर सेवालाई निरन्तरता दिदै आएको उल्लेख गर्दै अध्यक्ष खरेलले देखिएका सबैजसो कमजोरी औल्याउँदै आलोचनात्मक समाचार निरन्तर दिन पत्रकारहरुलाई आग्रह गरे । सुरक्षित तरिकाले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनु नै आफूहरुको कर्तव्य रहेको स्मरण गर्दै यात्रुहरुले सकुशल रुपमा दशैं मनाए मात्र आफूहरु आर्शीवादको योग्य हुने जिकिर समेत गरे ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले दुर्घटनाका कारण खोजी गरी त्यसलाई रोक्ने अभियान चलाएको बताए । आँखा परीक्षण, मेकानिकल जाँच कार्यलाई जोड दिएको उनले बताउँदै सडक जाँचभन्दा पनि सुरक्षामा जोड दिएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दान बहादुर थापाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे दुर्घटना कम हुने र यात्रा सुरक्षित हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले व्यवसायिक संघ–संस्थाहरुबीच भाईचारा र सहकार्य गर्ने उद्देश्यले प्रा.लि.ले विभिन्न समयमा कार्यक्रम गर्दै आएको चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij